गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको काम प्रभावित

ए वान डेस्क
९ बैशाख २०७६, सोमबार १६:२१

निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य प्रभावित भएको छ। नदीजन्य पदार्थको अभावमा राष्ट्रिय गौरवको आयोजनासमेत रहेको विमानस्थलको निर्माण कार्य प्रभावित भएको हो। रुपन्देहीको बुटवल उपमहानगरपालिकाले नदीजन्य पदार्थको निकासीमा रोक लगाएपछि समयमै सुचारु हुनेमा शंका पैदा भएको हो।

उपमहानगरपालिकाले विमानस्थल आयोजनाका लागि नदीजन्य पदार्थ निकाल्न विमानस्थलमा नदीजन्य पदार्थ आपूर्तिको जिम्मा पाएको स्वसाम कन्सट्रक्सन कम्पनीलाई २०७५ जेठ ८ गते स्विकृति दिएको थियो । तर, उपमहानगरपालिकामा प्रमुख कार्यकारी अधिकृतको रुपमा चक्रपाणि शर्मा आएपश्चात् नदीजन्य पादर्थ निकासीमा एकाएक रोक लगाइएको विमानस्थलका आयोजना प्रमुख इन्जिनियर प्रवेश अधिकारीले बताए।

‘विमानस्थलको मुख्य संरचना निर्माण हुँदैछ,’ उनले भने, ‘अहिले हामीलाई त्यसकै आवश्यक छ तर उपमहानगरपालिकाले आयोजनाको लागि पनि नदीजन्य पदार्थ निकासीमा रोक लगाउँदा समस्यामा भयो।’

प्यारिमिटर सडक, इन्ट्री, एक्जिट प्वाइन्ट लगायत धेरै संरचना बनाउन बाँकी रहेको बताउँदै उनले आवश्यक सहयोगका लागि उपमहानगरपालिकालाई पत्राचार गरेर आग्रह समेत गरिएको जानकारी दिए।

उनका अनुसार आवश्यक नदीजन्य पदार्थका लागि स्वसाम कम्पनीले बुटवल उपमहानगरपालिकालाई आवश्यक राजस्व दस्तुरसमेत बुझाएको छ।

‘अहिले हामी विमानस्थल संचालनको लागि डेडलाइन नजिक पुगेका छौं,’ आयोजना प्रमुख अधिकारीले भने, ‘नदीजन्य पदार्थ निकासीमा स्थानीय तहले रोक लगाउनु भनेको योजनामा असर पार्नु हो। विमानस्थलमा अहिले धावनमार्गका अन्तिम चरणको पिचको काम चलिरहेको थियो।’

यता, उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चक्रपाणि शर्माले आयोजनाका लागि नदीजन्य पदार्थको निकासी सम्बन्धमा छलफल भइरहेको र त्यसकै निर्णय अनुसार काम हुने बताए।

कुल ६ अर्ब २२ करोड ५१ लाख २० हजार २ सय २७ रुपैयाँ लगानीमा बन्न लागेको विमानस्थलमा एडिबीको ४० दशमलव ५ प्रतिशत ऋण तथा १८ प्रतिशत अनुदान रहेको छ। यस्तै ओपेक फन्ड फर इन्टरनेसनल डेमलपमेन्टको ३० दशमलव ५ प्रतिशत र थप ११ प्रतिशत तथा मूल्य अभिवृद्धि कर नेपाल सरकारले लगानी गर्ने हो।

उपमहानगरपालिका र स्वसाम कन्सट्रक्सन प्रालिबीच नदीजन्य पदार्थ निकासी र ढुवानीको लागि भएको सम्झौतापत्र

यो विमानस्थल ‘फोर ई’ स्तरको हो। जहाँ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने सबै जहाज अवतरण गर्न सक्छन्। यो विमानस्थलको दीर्घकालिन लक्ष्य दैनिक १६ हजार यात्रुलाई सेवा दिने रहेको छ।

२०२३ सालमा भारत सरकारको सहयोगमा निर्मित गौतमबुद्ध विमानस्थललाई स्तरोन्नति गरी अन्तराष्ट्रिय विमानस्थलका रुपमा निर्माण गर्न चिनियाँ कम्पनीको नर्थ वेस्ट सिभिल एभियसन कम्पनीले ६ अर्ब २२ करोड ५१ लाख २० हजार २ सय २७ रुपैयाँमा ग्लोबल टेन्डरबाट सन् २०१७ डिसेम्बर ३१ सम्म सम्पन्न गर्ने सम्झौता गरेको थियो। तर, मधेस आन्दोलन, भूकम्प लगायत विभिन्न कारणले उसले सन् २०१९ जुनसम्म सम्पन्न गर्ने म्याद पाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*