जिल्ला प्रशासनमा आगलागी हुँदा करिब ९ लाख ५० हजारको क्षति
कालिकोट : आइतबार राति साडे ८ बजेतिर जिल्ला प्रशासन कार्यालय कालिकोटमा आगलागी हुँदा ९ लाख ५० हजार बराबरको क्षति भएको छ। प्रमुख जिल्ला अधिकारी चन्द्रबहादुर कार्कीको कार्यकक्षमा विद्युतको तार सर्ट भएर आगलागी हुँदा ९ लाख ५० हजार बराबरको क्षति भएको हो।
प्रमुख जिल्ला अधिकारी चन्द्रबहादुर कार्कीले आफ्नो कार्यकक्षमा आगलागी भएपछि कार्यालयको बाहिरै कसेर नागरिकता वितरण गरिएको बताए। उनले भने, ‘कार्यकक्षमा बसेर नागरिकता वितरण गर्ने अवस्था छैन्। कार्यकक्षा पुरै पुन मर्मत गर्नुपर्ने अवस्था छ। राति साढे आठ बजे लागेको आगो तत्काल नियन्त्रणमा लिएर ठूलो क्षति हुनबाट जोगिएको हो। प्रजिअ कार्कीले भने, ‘झण्डै २० मिनेट ढिलो जानकारी भएको भए पूरै कार्यालय खरानी बन्नेरहेछ।’
उनका अनुसार आगलागीमा सोफा ३ सेट, टि टेबल २ सेट, कम्प्युटर एक थान, प्रिन्टर एक थान, टेलिफोन सेट २ थान, स्टील दराज २ थान, कारपेट दुई थान, हिटर एक थान, कुर्सी ५ थान, ओईरिंङ तार चार क्वाईल, युपिएस एक थान, पावर सकेट ४ थान, काठ लगायतका सामान जलेर नष्ट भएका छन्।
राति लागेको आगो प्रहरी र स्थानीयवासीको सक्रियतामा नियन्त्रणमा आएको थियो। प्रमुख जिल्ला अधिकारी कार्कीले कार्यालयको बाहिरबाट नागरिकता वितरणलगायतका कार्यालयका कामहरु संचालन भएको बताए।उनले आगलागीबाट भएको क्षतिको प्रहरी मुचुल्का गरी गृहमा पठाएको बताए।















