ताप्लेजुङमा भरुवा बन्दुक अत्यधिक, १२५ थान बरामद

ए वान डेस्क
११ बैशाख २०७६, बुधबार १२:४४

प्रदेश नम्बर १ का विभिन्न जिल्लाबाट एक महिनामा २०५ नाल हतियार बरामद भएका छन्।

सरकारले हतियार बुझाउन भनेपछि प्रहरीले संकलन थालेको थियो। हातहतियारमध्ये १३० नाल सर्वसाधारणहरूले बुझाएका हुन्। ७५ नाल विभिन्न स्थानहरूबाट बरामद गरिएको एक नम्बर प्रदेश प्रहरीले जनाएको छ।

विप्लव माओवादीलाई प्रतिबन्ध घोषणापछि सरकारले भएका हतियार बुझाउन सम्बद्ध पार्टी तथा सर्वसाधारणलाई अपिल गरेको थियो।

सर्वसाधारणले बुझाएका हातहतियार अधिकांश भरुवा बन्दुक रहेका छन्। बुझाएका हातहतियारमध्ये ९५ नाल वैध हतियार रहेका छन् भने बाँकी ३५ नाल नवीकरण तथा दर्ता नगरेका अबैध हतियार छन्।

संकलन गरिएका र अवैध रुपमा फेला परेका हातहतियारमध्ये सबैभन्दा बढी १६७ नाल भरुवा बन्दुक छन्। यसैगरी, एक नाले टोटा १३ नाल, म्यागनम १ नाल, २ नाले टोटा ४ नाल, जोरनाले बन्दुक ६ नाल, २ नाले ब्रिज लोडिङ १ नाल, एरगन १ नाल, सर्ट गन १ नाल, सानो चाइनिज पेस्तोल २ नाल र ९ थान नाल छन्।

प्रदेश १ मा सबैभन्दा बढी ताप्लेजुङ जिल्ला प्रहरी कार्यालयले हतियार संकलन गरेको छ। ताप्लेजुङ जिल्लामा मात्र ४० जनाले आफूसँग भएका लाइसेन्स प्राप्त हातहतियार बुझाएका छन्। ८५ थान हतियार अवैध रहेको ताप्लेजुङका प्रहरी नायब उपरीक्षक सञ्जयसिंह थापाले बताए।

यसैगरी, पाँचथरमा ३५ नाल, तेह्रथुममा २८ नाल, मोरङमा १५ नाल, इलाममा ११ नाल र भोजपुरमा २ नाल हतियार संलकन भएका छन्। वैधानिक रुपमा हातहतियार राख्ने सर्वसाधारणले हरेक पाँच वर्षमा जिल्ला प्रशासन कार्यालयमा नवीकरण गर्नुपर्ने प्रावधान छ। पाँच वर्षमा नवीकरण नगरे स्वतः अबैध हुने प्रावधान छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*