सापटी लिएको रकम फिर्ता नगर्दा हत्या

ए वान डेस्क
१३ बैशाख २०७६, शुक्रबार १५:२१

सिरहा : बिरामी हुँदा साथीबाट सापटी लिएको ४५ सय रुपैयाँ फिर्ता गर्न नमान्दा लहान नगरपालिका- ९ गोठटोलका ६९ वर्षीय रतनबहादुर तामाङको हत्या भएको छ। तामाङलाई सप्तरीको राजविराज नगरपालिका- ३ का ५५ वर्षीय ज्ञानबहादुर थापामगरले उक्त रकम सापटी दिएको थियो।

सापटी रकम पटकपटक माग्दा पनि तामाङले आनाकानी गर्दा उनको हत्या भएको हो। तामाङको शव हत्या गरिएको अवस्थामा गएको शनिबार लहान नगरपालिका १७ बलान खोलामा फेला परेको थियो।उनको घाँटीमा धारिलो हतियार प्रयोग गरी हत्या गरिएको थियो।

घटना भएको चार दिनमा प्रहरीले कसुरदार मगरलाई बुधबार धनगढीमाई नगरपालिका १० बाट पक्राउ गरेको हो।उनलाई बिहीबार इलाका प्रहरी कार्यालय लहानमा पत्रकार सम्मेलन गरी सार्वजानिक गरेको छ।

प्रहरीले पत्रकार सम्मेलनमा सार्वजानिक गरेको विवरण अनुसार मगर ६-७ वर्ष पहिलादेखि बेसार बिक्री गर्दै हिँड्ने क्रममा तामाङसँग चिनजान भएको थियो।

तामाङको गोठटोलमा चिया पसल छ। त्यही क्रममा मगरले तामाङ बिरामी पर्दा ४५ सय रुपैयाँ सापटी दिएका थिए। रुपैयाँ फिर्ता माग्दा आनकानी गरी उल्टै मगरलाई डर र धम्की दिँदै आएका थिए।

चैत ५ गते साँझ मगर तामाङको घरमा आयो। मासु र रक्सी पनि सेवन गर्‍यो। घरमा कसेलै थाहा नपाउने गरी तामाङकै घरबाट खुकुरी लियो। मगरले तामाङलाई ललाइ- फकाइ बजार घुम्न जाउ भन्दै घर बाहिर लग्यो। अघिअघि हिँडिरहेका तामाङले पछाडीबाट खुकुरी प्रहार गरी हत्या गरेको मगरले प्रहरीसमक्ष बयान दिएका छन्।

हत्यापछि मगर फेरी फर्केर तामाङकै घर आएका थिए। तामाङकी पत्नी मनमाया तामाङसँग १५ सय रुपैयाँ र घरको मोबाइल सेट चोरेर हिँडेका थिए। प्रदेश र जिल्लाको संयुक्त प्रहरी टोलीले अनुसन्धान गरी मगरलाई पक्राउ गरेको एसपी जिवन श्रेष्ठले जानकारी दिए।उनका अनुसार मगरलाई सात दिनको म्याद थप गरी कर्तव्य ज्यान मुद्दामा अनुसन्धान बढाइएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*