आज अन्तर्राष्ट्रिय श्रमिक दिवस
१३०औं अन्तर्राष्ट्रिय श्रमिक दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ । सन् १८८६ मा अमेरिकाको सिकागोमा ८ घण्टा काम, ८ घण्टा मनोरञ्जन र ८ घण्टा आराम भन्ने नारासहित सुरु भएको मजदुर आन्दोलनको सम्झनामा विश्वभर यो दिवस मनाइन्छ ।
विगतझैं आज विविध कार्यक्रमका साथ यस वर्षको अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदै छ । यो दिवसका लागि सरकारले सार्वजनिक बिदा दिएको छ ।
सन् १८८९ मा फ्रान्सको पेरिसमा सम्पन्न विश्वका श्रम संगठन एवं श्रमिक नेताको बैठकले विश्व श्रमिक दिवस विश्वभर मनाउने निर्णय गरेको हो ।
त्यसयता सन् १८९० देखि हरेक वर्ष अंग्रेजी महिनाको १ मेका दिन श्रमिक दिवस मनाउने गरिन्छ । विश्वका मजदुरले यस दिवसलाई विशेष पर्वका रूपमा लिँदै आफ्ना हकअधिकारको सुनिश्चितताका लागि सरकार र रोजगारदातालाई दबाब दिने उद्देश्यले विभिन्न कार्यक्रम गरी मनाउँछन् ।
नेपालमा विराटनगरमा २००७ सालमा मजदुर आन्दोलनसँगै यो दिवस मनाइन थालिएको हो । २०४६ सालको राजनीतिक परिवर्तनसँगै नेपालमा यो दिवसमा सार्वजनिक बिदा दिन थालियो ।
यसवर्ष मुलुकभरका विभिन्न ट्रेड युनियनमा आबद्ध मजदुर संगठनहरूले सभा ¥यालीलगायतका विविध कार्यक्रम गरी मनाउनेछन् । अहिलेको नयाँ संविधानमा व्यवस्था भएको श्रमिक हकअधिकारका व्यवस्था कार्यान्वयनमा यस वर्षको दिवस केन्द्रित गरिएको छ ।















