प्रदेश २ : जनता आवास कार्यविधि सच्याउन माग गर्दै लगातार चौथो पटक प्रदेशसभा अवरूद्ध

ए वान डेस्क
२० बैशाख २०७६, शुक्रबार १५:१४

प्रदेश दुईको विपक्षी दलहरू नेपाली कांग्रेस र नेपाल कम्युनिस्ट पार्टी(नेकपा) ले लगातार चौथो पटक बैठक अवरूद्ध गरेको छ।

विपक्षी दलहरूसँग गरिएको भद्र सहमति कार्यान्वयन नभएको भन्दै प्रदेशसभाको आजको बैठक पनि अवरूद्ध गरिएको हो।

बैठकमा बोल्दै नेपाली कांग्रेसका प्रदेशसभा सदस्य उपेन्द्र कुश्वाहाले प्रदेश सरकार समानुपातिक हिसाबले प्रत्येक निर्वाचन क्षेत्रमा विकासे बजेट कार्यान्वयनमा ल्याउने भद्र सहमति गरे पनि सरकार सो अनुरूप चल्न नसकेको आरोप लगाए।

उनले प्रदेश सरकारले भद्र सहमति गरेर पनि संवाद वा छलफल नै नगरी बजेट खर्च गरिरहेको बताए।

नेकपाका प्रदेशसभा सदस्य ज्वाला कुमारी साहले प्रदेश सरकार पार्टीभन्दा माथि उठ्न नसकेकोमा रोष प्रकट गरिन्।

उनले सरकार विपक्षी दलहरूसँग पटक/पटक सहमति गरेको र आश्वासन बाँडे पनि त्यसको कार्यान्वयन नभएको आरोप लगाइन्। प्रदेशसभा सदस्य साहले आफूहरूसँग गरिएका सहमति कार्यान्वयनतर्फ प्रदेश सरकार गम्भीर नभएसम्म सदन चल्न नदिने अडान दोहोर्‍याइन्।

प्रदेशसभा सदस्य सुन्दर बहादुर विश्वकर्माले जनता आवास कार्यक्रमका लागि प्रदेश सरकारले तयार पारेको नमूना कार्यविधि परिवर्तन गर्नुपर्ने हाम्रो माग रहेको बताए।

उनले केन्द्र सरकारले जनता आवास कार्यक्रमको संयोजक निर्वाचन क्षेत्रको जनप्रतिनिधि रहने व्यवस्था गरे पनि प्रदेश सरकारले जिल्ला स्तरीय संयोजक तोकेकोमा आपत्ति जनाए।

प्रदेशसभा बैठक अनिश्चिकालका लागि स्थगित गरिएको छ । – सेतोपाटी

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*