यस्ता छन् खुसी हुने आठ उपाय

खुसी हुनु र सुखी हुनुमा निकै अन्तर छ । अहिलेको मानिस सुखी त हुनसक्ला तर खुसी हुनेहरु भने निकै कम छन् । मानिस सधैँ खुसी त रहन सक्दैन । यो त असम्भव कुरा हो तर पनि केही हदसम्म खुसी हुने उपायहरुले उसलाई अरुभन्दा अर्थपूर्ण बनाउँछ ।
खुसी हुने उपायहरु
१. काम गर्ने : काम गर्दा आफूलाई फुर्सद नहुने हुँदा अनावश्यक कुरा सोंचिदैन । खाली दिमाग सैतानको घर भनेझैं बेकारमा अनावश्यक बस्दा अनेक कुराहरु दिमागमा आउने गर्छ । केही काम गर्दा राम्रो हुन्छ । काम त सकेसम्म आफ्नै रुची र क्षेत्रको गर्दा अझ बढी आफूलाई आनन्द दिन्छ ।
२. आत्मविश्वासमा वृद्धि : आफूले के गर्ने, कसो गर्ने, कसरी गर्ने भन्ने कुरामा आत्मविश्वास हुनु जरुरी छ । आत्मविश्वास नहुने काममा कहिल्यै पनि सफलता प्राप्त गर्न सकिँदैन । आत्मविश्वासले हर काममा फाइदा दिन्छ । चाहे त्यो ग्राजुयसन होस् या पद होस् आफूमा आत्मविश्वास हुनु पर्दछ ।
३. सकारात्मक रहने : सकारात्मक कुराले मस्तिष्कमा प्रत्यक्ष फाइदा गर्छ । जीवनमा सकारात्मक कुराहरु मात्र नभई नकारात्मक कुराहरु पनि हुन्छन् । तर ती नकारात्मक कुराहरुलाई भुल्नु आवश्यक हुन्छ । नकारात्मक कुराले मानिसमा घृणाको भाव बढी पैदा गर्छ । त्यसैले नकारात्मक कुराहरुलाई हटाएर सकारात्मक कुराहरु सोच्ने गर्नुपर्दछ ।
४. सामाजिक सञ्जालबाट टाढा रहने : खुसी रहनलाई सामाजिक सञ्जालबाट टाढा रहनुपर्दछ, अथवा निकै कम चलाउने । सामाजिक सञ्जालमा मानिसहरु निकै नै व्यस्त भएको देख्न सकिन्छ । यसले मानिसको सिर्जनशील क्षमतामा ह्रास पुर्याउँछ । बरु सामाजिक सञ्जालमा व्यस्त रहनुको सट्टामा किताबहरु पढ्न सकिन्छ ।
५. असल व्यवहार गर्ने : अरुलाई असल व्यवहार गर्दा हामीलाई एक किसिमको आनन्दानुभूति हुन्छ । दुख पर्दा अरुलाई सहयोग गर्ने, अरुलाई खुसी राख्ने आदिजस्ता कामले पनि हामीलाई खुसीको अनुभव दिन्छ । अरुलाई हामीले जस्तो व्यवहार गरिन्छ हामीलाई पनि उनीहरुले त्यस्तै खालको व्यवहार गर्दछन् ।
६. परिवार र साथीसँग नजिक रहने : परिवार सबथोक हो । परिवारको साथमा रहँदा आफूलाई कुनै पनि किसिमको पीडा अनुभूति हुँदैन । आफूलाई समस्या परेको कुरालाई परिवारका सबै सदस्यहरुसँग राख्दा समस्या सजिलै हल हुन्छ । यसैगरी साथीहरुको साथमा त झन् आफूूलाई अझ बढि चङ्गा अनुभूति गरिन्छ । घरपरिवारमा भन्न नसकिने खालको समस्याहरुलाई साथीहरुमाझ भनेर पनि हल गर्न सकिन्छ ।
७. गहिरा अर्थपूर्ण कुरा गर्ने : एरिजोना युनिभर्सिटीका साइकोलोजिस्टहरुले सामान्य कुरा गर्ने भन्दा गहिरा र अर्थपूर्ण काम गर्नेहरु अझ बढि खुशी हुने कुरा बताएका छन् । सामान्य कुराले एउटै सतहमा बग्ने तर गहिरो कुुराले भने एउटै सतहमा मात्र नबगी जीवन प्रेम लक्ष्य आशाको कुरा गर्ने हुँदा गहिरा कुरा गर्नु राम्रो हुन्छ ।
८ सामाजिक कार्य गर्ने : आफू बसेको टोल समाजको विकासमा सक्रिय सहभागी भई त्यहाँ भएका अनेक कार्यमा रुचि राखेर आफ्नो तर्फबाट सक्दो सहयोग गर्न सकिन्छ । आफू बसेको समाजमा आफूले केही गर्दा आफूलाई आनन्द मात्र नभई सामाजिक प्रतिष्ठा पनि बढ्छ ।
– एजेन्सी