जम्मा ५ भोट पाएपछि ग्वाँ ग्वाँ रोए यी उम्मेदवार ! (भिडियो)

भारतमा लोकसभा चुनावमा जालन्धरको एक मतगणना केन्द्रमा अनौठो दृश्य देखियो ।
शटर बनाउने नीतू शटरांवाला बिहीवार आँसु चुहाउँदै मतगणना केन्द्रबाट बाहिरिए । चुनावमा हारेर मात्र उनको आँसु चुहिएको भने हैन ।
उनले भने, ‘मेरा परिवारमा ९ सदस्य छन् तर मैले जम्मा ५ भोट पाएँ । मेरो गल्लीमा बस्ने सबैजनाले मलाई भोट दिने वाचा गरेका थिए । मैले एक महिना पसलमा नबसेर मानिसहरूसँग भेटघाट गरें तर उनीहरूले भोट दिएनन् । मेरै परिवारका मानिसले पनि मलाई धोका दिए ।’
हारबाट निराश नीतूले अबदेखि कहिल्यै चुनाव नलड्ने बताएका छन् ।
नीतू मतगणना केन्द्रमै ग्वाँ ग्वाँ रुँदा मानिसहरूले उनका कुराको भिडियो रेकर्डिङ गरेर सामाजिक सञ्जालमा पोस्ट गरे । अन्तिम मतगणनामा नीतूले ८५६ भोट ल्याए ।
नीतूले यसअघि मोबाइल फोनलाई नक्कली बमसँग जोडेपछि प्रहरीले उनलाई पक्रेको थियो । त्यतिखेर सञ्चारमाध्यममा छाएपछि उनले चुनावमा उठ्ने निर्णय लिएका थिए ।
एजेन्सी