क्यारेबियन लिगमा सन्दीप महँगो मूल्यमा ‘विक्री’

ए वान डेस्क
१० जेष्ठ २०७६, शुक्रबार १५:३९

विश्वका ठूला व्यावसायिक क्रिकेट लिग खेलेर तहल्का मच्चाएका नेपाली स्पिनर सन्दीप लामिछाने क्यारेबियन प्रिमियर लिग (सीपीएल) को खेलाडी खरिद विक्री (अक्सन) मा महँगो मूल्यमा बिक्री भएका छन् ।

इंग्ल्याण्डमा बुधवार राती भएको ड्राफ्टमा सन्दीपलाई बार्बाडोस ट्रिडेन्टस् क्लबले ७० हजार अमेरिकी डलरमा किनेको जनाइएको छ। जुन नेपाली रुपैयाँ करिब ७८ लाख हुन आउँछ।

अस्ट्रेलियाको बिग ब्याश क्रिकेटमा सन्दीपको मेल्बर्न स्टार्स उपविजेता

सन्दीप लामिछानेको क्रिकेट यात्रा 

उच्च मूल्य
सन्दीपले यस्ता लिगमा पाएको यो अहिले सम्मको उच्च मूल्य हो।

आफू नयाँ टोलीमा छानिए लगत्तै सन्दीपले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन्, “म उत्साहित छु। एउटा नयाँ परिवारको सदस्य हुन म निकै व्यग्रताकासाथ प्रतीक्षामा छु।”

गत सिजनमा उनले खेलेका यस्ता फ्रेञ्चाइजी लिगमध्ये सन्दीपले सबैभन्दा बढी अष्ट्रेलियाको चर्चित लिग बिग बासमा ५० हजार अमेरिकी डलर पाएको बताइएको छ।

त्यसपछि क्यानडामा सम्पन्न ग्लोबल टि-२० लिग मा ४० हजार डलरमा छानिएका सन्दीपले अफगानिस्तान प्रिमियर लिगमा १५ हजार डलर तथा टि-२० लिगमा ३० हजार डलर मूल्य पाएका थिए।

गत वर्षको सिजनमा सन्दीपलाई ५ हजार डलरमा सेन्ट किट्स एण्ड नेभिस प्याट्रीएट्सले खरिद गरेको थियो।

भारतको चर्चित व्यावसायिक प्रतियोगिता आइपीएलमा गत वर्ष पहिलो नेपाली खेलाडीका रुपमा ३२ लाख रुपैयाँमा अनुबन्ध भएका सन्दीपले त्यसपछि आफ्नो व्यावसायिक जीवनमा पछाडि फर्केर हेर्नु परेको छैन।

सन्दीपसँगै पहिलो पटक विदेशी व्यावसायिक क्रिकेट लिगको ड्राफ्टमा परेका नेपाली खेलाडीहरू सोमपाल कामी, दिपन्द्र सिंह ऐरी र रोहित पौडेललाई भने कुनै पनि क्लबले खरिद गरेनन्।

यो सिजनको क्यारेबियन प्रिमियर लिग अगस्ट २१ देखि सेप्टेम्बर २७ सम्म वेस्ट इन्डिजमा आयोजना हुने तय भएको छ।

सीपीएल टि-२० को अघिल्लो सिजनमा सन्दिपले सेन्ट किट्स एण्ड नेभीस प्याट्रीएट्सको लागि ५ खेलमा कुल ७ विकेट लिएका थिए।

सीपीएल टि-२० मा कुल ६ टिम रहेका छन् । जसमा बार्बाडोससँगै गुयना एमजन वारियर्स, जमैका तल्लावाज, सेन्ट किट्स एण्ड नेभिस प्याट्रीएट्स, सेन्ट लुसिया स्टार्स र ट्रिन्बागो नाइट राइडर्स रहेका छन्। – bbc.com

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*