चन्द्रनिगाहपुरमा बम आतंक, बजार ठप्प
रौतहट : नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले आह्वान गरेको बन्दको दिन सोमबार बिहानै बम आतंकले चन्द्रनिगाहपुर बजार ठप्प भएको छ। पूर्वपश्चिम महेन्द्र राजमार्गअन्तर्गत चन्द्रनिगाहपुरको मुख्य चोकमा राखिएको शंकास्पद वस्तुका कारण चन्द्रनिगाहपुर ठप्प भएको हो।
उक्त वस्तु नेपाली सेनाको इन्द्र बक्स गण चन्द्रनिगाहपुरको टोलीले करिब ९ बजे बिरामद गरेको छ। उक्त वस्तु परीक्षणपछि मात्र बम हो वा होइन भन्ने थाहा हुने सेनाले बताएको छ। बमको आतंकले महेन्द्र राजमार्ग करिब २ घण्टा राजमार्ग अवरुद्ध भएको थियो।
चन्द्रनिगाहपुर बजार भने पुरै बन्द रहेको छ। बन्दको असरले रौतहटका सरकारी तथा निजी विद्यालयहरु खुलेका छैनन्। छोटा दूरीका सवारी साधन चलेका छन्। लामा दूरीका सवारी साधनहरु सुरक्षाकर्मीको स्कर्टिङमा चलाइएको छ। – थाहा खबर















