विप्लवको बन्द : बाराको आगजनीदेखि नुवाकोटको शक्तिशाली बमसम्म, कहाँ के भयो ?

ए वान डेस्क
१३ जेष्ठ २०७६, सोमबार १४:२६

आफ्ना कार्यकर्ता मारिएको विरोधमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले सोमबार नेपाल बन्दको घोषणा गरेको छ।आइतबारदेखि देशका विभिन्न ठाउँमा बम तथा नक्कली बम भेटिन थालेपछि स्थानीय त्रसित भएका छन्।साथै विप्लव समूहले विभिन्न ठाउँमा विस्फोट गराउनुका साथै सवारी साधनमा आगजनी गरेका छन् । अहिलेसम्म कहाँ के भयो ?

नुवाकोटमा दुई बम निष्क्रिय

नुवाकोट: विदुर नगरपालिका- ५ पिपलटार र वेलकोटगढी नपा-५ कोल्पुटारमा बम फेला परेको छ। सुरक्षाकर्मीले दुबै बम निष्क्रिय पारेको प्रहरीले जनाएको छ।पिपल्टारमा प्रेशर कुकर बम र कोल्पुटारमा पेट्रोल बम फेला परेको हो।

यस्तै, पासाङल्हामु मार्गको त्रिशूली-ककनी तथा गल्छी-देवीघाट सडकखण्डको बीचमा पनि बम फेला परेको छ। दुवै बम प्रहरीले निष्क्रिय पारेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ।

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको समूहले सोमबार गरेको नेपाल बन्दको प्रभाव नुवाकोट र रसुवामा परेको छ। बन्दका कारण नुवाकोट र रसुवामा लामो तथा छोटो दूरीका यातायात संचालनमा आएका छैनन्।अधिकांश शिक्षण संस्था तथा उद्योग कलकारखाना ठप्प भएका छन्।

स्कर्टिङका लागि सुरक्षाकर्मीसहितको एक÷एक थान गाडी परिचालन गरिएको नुवाकोट प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक कृष्णबहादुर पल्लिमगरले जानकारी दिए।विभिन्न ठाउँमा बम फेला परेपछि आम सर्वसाधारण त्रसित भएका छन्।

विराटनगर : यस्तै मोरङको बुढीगंगा गाउँपालिका-१ र सुन्दरहरैंचा नगरपालिका-७ मा बिहान फेला परेको अज्ञात वस्तु प्रेसर कुकर बम भएको पुष्टि भएको छ।

दुवै बम नेपाली सेनाको डिस्पोजल टोलीले डिस्पोज गरेको छ।दुवै ठाउँमा बम भेटिएपछि त्रास उत्पन्न भएको थियो। मोरङ प्रहरीका प्रवक्ता डीएसपी घनश्याम श्रेष्ठले दुवै ठाउँमा भेटिएको अज्ञात वस्तु प्रेसर कुकर बम भएको पुष्टि सेनाले गरेको जानकारी दिए। कोसी राजमार्ग अन्तर्गत बुढीगंगा गाउँपालिकाबाट विराटनगर महानगरपालिका प्रवेशद्वारमा भेटिएको बम सेनाको टोलीले बिहान ९:३० बजे डिस्पोज गरेको हो।

मोरङका दुवै ठाउँमा विप्लव समूहले नै बम राखेको हुन सक्ने प्रहरीको आशंका छ। डीएसपी श्रेष्ठले बम राखेर सर्वसाधारणलाई आतंकित पार्नेको खोजी भइरहेको बताए। विप्लवको बन्दका कारण लामो तथा छोटो दूरीका सवारी साधन सञ्चालन हुन सकेको छैन। शैक्षिक संस्थाहरु पनि ठप्प रहेका छन्।

ललितपुरमा शक्तिशाली बम

ललितपुर : ललितपुरका दुई ठाउँमा बम राखिएको बम नेपाली सेनाको टोलीले डिस्पोज गरेको छ।दुवै ठाउँमा शक्तिशाली विस्फोटक डेटोनेटर राखिएको सेनाले जनाएको छ।
महानगरीय प्रहरी परिसर जावलाखेलका प्रवक्ता नारयाण चिमोरियाले तर्साउन उद्देश्यले शंकास्पद वस्तु तथा बम राखिएको पाइएको बताए।

महोत्तरीमा पनि भेटियो बम

महोत्तरी : बर्दिबास नगरपालिका कार्यालय अगाडी भेटिएको प्रेसर कुकर बम नेपाली सेनाको बम डिस्पोजल टोलीले डिस्पोज गरेको छ।बस फेला परेपछि स्थानीयमा त्रास फैलिएको छ।

सिन्धुलीमा शंकास्पद वस्तु

सिन्धुली : सिन्धुलीको दुधौली नगरपालिका ९८ स्थित खोरभञ्याङमा फेला परेको शंकास्पद वस्तु नक्कली बम भएको प्रहरीले जनाएको छ। निमार्णाधिन मदन भण्डारी राजमार्गको सिन्धुली दुधौलीस्थित पुर्वीखण्डमा खोरभन्ञ्याङमा सकेट बमजस्तो देखिने शंकास्पद वस्तु सकेट बम जस्तो देखिने नक्कली ‘होक्स’ भएको पुष्टि भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख प्रहरी उपरिक्षक चक्रबहादुर सिंहले जानकारी दिए।

दुईवटा सकेट बमजस्ता देखिने शंकास्पद वस्तुमा रातो कालो तार जोडिएको र बन्द सफल पारौं जस्ता लेखिएका पर्चा पनि भेटिएपछि प्रहरीले बम भएको आशंका गरेको थियो । नेपाली सेनाको बम डिस्पोजल टोलीले शंकास्पद वस्तुको डिस्पोज गर्दा नक्कली बम भएको पुष्टि भएको सिंहले जनाकारी दिए। शंकास्पद वस्तु भेटिएपछि मदन भण्डारी राजमार्ग अवरूद्ध भएको थियो।

बारामा पाइप बोकेको ट्रकमा आगजनी

बारा : बाराको सिमरामा आइतबार राति रोकिराखेको भारतीय ट्रकमा अज्ञात समूहले आगजनी गरेको छ। जीतपुरसिमरा उपमहानगरपालिका- ३ स्थित बजनीमा पाइप बोकेको लरीमा आगजनी गरिएको प्रहरीले बताएको छ।नेपाल-भारत पेट्रोलियम पाइपलाइन आयोजनाका लागि पाइप बोकेर आएको एपी ३१ एक्स ६३१६ नम्बरको ट्रक बजनीस्थित सडक छेउमा रोकिराखेको थियो ।

ट्रकमा राती १२ बजे आगो लागेपछि जीतपुरसिमरा उपमहानगरपालिकाको दमकलको सहयोगमा आगो नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय सिमराका प्रहरी निरीक्षक सुभाष हमालले जानकारी दिए।आगलागीबाट ट्रकको पछिल्लो भागमा क्षति पुगेको छ।बन्दका कारण बारामा लामा दूरीका सवारी साधन ठप्प भएको छ।अधिकांश विद्यालय बन्द छन्।

इटहरीको बम डिस्पोज

इटहरी : इटहरी २० पानीपियामा भेटिएको बम नेपाली सेनाको टोलीले डिस्पोज गरेको छ। दुईवटा पोकामा सडकको बीचमा राखिएको बम नेपाली सेनाको टोलीले डिस्पोज गरेको हो। बिहानै गस्तीमा हिँडेका सुरक्षाकर्मीले उक्त बम भेटेका थिए। टाइम सेट गरेर राखिएको टाइमर बम डिस्पोज गरेको इलाका प्रहरी कार्यालय इटहरीले जानकारी दिएको छ।

पृथ्वीराजमार्गको २ ठाउँमा बम, सेनाद्धारा डिस्पोज

धादिङ : पृथ्वीराजमार्ग अन्तरगत धादिङका २ ठाउँहरुमा बम भेटिएको छ। धादिङको महादेववेशी र नौविसेमा बम भेटिएपछि नेपाली सेनाको टोलीले निस्क्रिय बनाएको छ। थाक्रे गाउँपालिका वडा नं ६ महादेवबेसी पुलमा सकेट बम भेटिएको हो भने धुनीबेसी नगरपालिका वडा नं ६ नौबिसेमा प्रेसर कुकर बम भेटिएको छ। विप्लव समुहले आव्हान गरेको बन्दको दिन राजमार्गमा बम भेटिएको हो।

बन्दका कारण राजमार्गमा थोरै मात्र सवारी साधन गुडेका छन्। २०/२५ वटा सवारी साधनहरुको समुह बनाएर प्रहरी स्कर्टिङमा सवारी साधनहरु चलिरहेको प्रहरीले जनाएको छ। राजमार्गका ठाउँ ठाउँमा प्रहरीहरु परिचालन गरिएको छ।
बन्दका कारण धादिङका प्राय : बजारहरु बन्द भएको छ। जिल्ला सदरमुकामबाट बाहिरिने कुनैपनि सवारी साधनहरु चलेका छैनन्।

मधुमल्ला र दमकमा शंकास्पद बस्तु

दमक : मोरङको मिक्लाजुङ गाउँपालिकास्थित उर्लाबारी–मधुमल्ला सडकखण्डमा सोमबार शंकास्पद वस्तु भेटिएको छ। वडा नं. ९ बजारबाट करिब २०० मिटरको दुरीमा उर्लाबारी मधुमल्ला सडक खण्डमा बम जस्तै देखिने शंकास्पद बस्तु फेला परेको हो।

कालो टेपले बेरिएको सानो वस्तुमा तार जोडिएको छ। बन्दका दिन उक्त शंकास्पद वस्तु भेटिएकाले विप्लब समूहले नै राखेको हुन सक्ने प्रहरीको अनुमान छ। बम डिस्पोज गर्न नेपाली सेनालाई खबर गरीसकेको इलाका प्रहरी कार्यालय मधुमल्लाका प्रमुख टेकबहादुर श्रेष्ठले बताए।

यसैबीच झापाको दमक स्थित रतुवा पुलमा पनि शंकास्पद वस्तु भेटिएको छ। पुर्वपश्चिम राजमार्गको रतुवा पुलमा केहीबेर अघि प्लाष्टिकले बेरिएको अवस्थामा शंकाष्पद वस्तु भेटिएको ईलाका प्रहरी कार्यालय दमकका प्रहरी निरीक्षक खगेन्द्र एक्तेनले जानकारी दिए। पुलबाट करिब ५० मिटर पश्चिम भेटिएको शंकास्पद वस्तु डिस्पोज गर्नका लागि नेपाली सेनासँग समन्वय भईरहेको एक्तेनले जानकारी दिए। सो क्षेत्रलाई प्रहरीले अहिले घेरा हालेर राखेको छ। शंकास्पद वस्तुका कारण पुर्वपश्चिम राजमार्ग अवरुद्ध बनेको छ।

रुकुममा पनि बन्दको प्रभाव

रुकुमपश्चिम : विप्लव निकट नेकपाले गरेको बन्दको प्रभाव देखिएको छ। बन्दका कारण रुकुम पूर्व र पश्चिमका मुख्य बजार क्षेत्र सुनसान देखिएका छन् भने उद्योग, कल कारखाना पनि बन्द छन्।जिल्लामा लामा तथा छोटा दूरीका सवारी साधन चलेका छैनन्।

डोटीमा बन्दको पूर्ण प्रभाव

डोटी : डोटीमा बन्दको पूर्ण प्रभाव परेको छ।सार्वजनिक सवारी साधनहरु संचालनमा आएका छैनन।डोटीका मुख्यबजार सिलगढी, पिपल्ला, तलकोट, गोपघाटलगायतका क्षेत्र बन्द छन्।जिल्लामा सवारी साधन संचालन नहुँदा यात्रु मारमा परेका छन्।

बन्दले धनगढीको जनजीन प्रभावित

धनगढी : बन्दको प्रभाव कैलालीमा पनि परेको छ।बन्दले गर्दा शैक्षिक संस्था, कलकारखाना, यातायात, बजार ठप्प छन्। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक प्रकाश डागीले बिहान पूर्वबाट आएका गाडीहरु स्कटीङमा ल्याइए पनि अहिले सार्वजनिक सवारी साधन ठप्प रहेको बताए।बजारमा बन्दकर्ता नखिए पनि बन्दको पूर्णरुपमा प्रभाव देखिएको छ।सामान्य तया अटो रिक्सा, मोटर साइकालबाहेक लामो तथा छोटा दूरिका सार्वजनिक यातायातका साधन ठप्प छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*