काठमाडौं-मधेश फाष्ट ट्रयाकको लागत १ खर्ब ७५ अर्ब, नयाँ डिपिआरमा तीन वटा सुरुङमार्ग
काठमाडौं-मधेश फाष्ट ट्रयाकको लागत १ खर्ब ७५ अर्ब रुपैयाँ पुगेको छ। नयाँ विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) अनुसार यो सडकको लागत ६३ अर्ब बढी लागत पर्ने देखिएको हो।
यसअघिको डिपिआरमा फाष्ट ट्रयाकको लागत १ खर्ब १२ अर्ब रुपैयाँ लाग्ने देखिएको थियो।नयाँ डिपिआर अनुसार फाष्ट ट्रयाकको दुरी करिव ४ किमी घटेको छ।७६ किमी अनुमान गरिएको आयोजना सुरुङमार्गको संख्या बढेपछि दूरी करिव चार किमी घटेको छ। सुरुको डिपिआरमा एउटा मात्रै सुरुङमार्ग थियो।
नयाँ डिपिआर अनुसार तीनवटा सुरुङमार्ग रहेका छन्। महादेवडाँडा ( महादेवटार-धेन्द्रे खोला)३.३५५ किमी, धेन्द्रेडाडा सुरुङमार्ग( धेन्द्रेखोला- जितपुर खोला) १.६३ किमी, लेनडाँडा सुरुङमार्ग (जितपुर खोला बादरेखोला) १.४३ किमी गरि ६.४१५ किमी सुरुङमार्ग निर्माण हुनेछ।
त्यसै गरि डिपिआरमा प्रस्थान विन्दु खोकनालाई मानिएको छ। अन्तिम विन्दु (७२.५ किमी) निजगढलाई मानिएको छ। पुलको संख्या ८७ वटा (१०.९५६ किमी ) रहेको छ। विशेष प्रकृतिका पुलहरु १६ वटा रहेका छन्। अन्य पुल ७१ वटा छन्। सडक चार लेनको हुनेछ। सडकको चौडाई २५ मिटर हुनेछ।
‘अझै पाँच बर्ष लाग्छ’
विकास समितिका सदस्य एवं सांसदहहरुले द्रुतमार्ग समयमा सकिनेमा आशंका व्यक्त गरेका छन्। उनीहरुले चार बर्ष निर्माण अवधी राखिएको र दुई बर्षमा १० प्रतिशत मात्रै लक्ष्य हासिल गरेको भन्दै कुनै पनि हालतमा तोकिएको समयमा नसकिने जिकिर गरे।
सासंद जिपछिरीङ लामाले तीन महिनाभित्र आयोजनाका सबै प्रक्रिया सकेर फुल फेजमा काम हुन पाए आगामी पाँच बर्षमा मात्रै सकिने बताए। यसका लागि सबै काम खालका कामको ठेक्का लाग्नुपर्ने, आवश्यक बजेट विनियोजन हुनुपर्ने, विवाद हटेर काम सुरु हुनुपर्ने उनले बताए।
‘ढाटेर छलेर हुँदैन। सेनाले कुनै जादु गर्ने होईन काम गर्न समय लाग्छ। तीन महिनामा सबै प्रक्रिया सके पाँच वर्ष लाग्छ,’उनले भने।सासंद गणेश पहाडीले दुई बर्षमा फाष्ट ट्रयाक पूरा गर्ने आधार नदेखिएको बताए।
१० प्रतिशत काम
द्रुतमार्ग आयोजना प्रमुख प्राविधिक सेनानी शरदलाल श्रेष्ठले दुई बर्षमा कामको प्रगति १० प्रतिशत रहेको बताए।उनले सेनाले दुई बर्षमा जग हाल्ने काम गरेको भन्दै आयोजनाको कामले अब गति लिने बताए।
उनले द्रुतमार्ग निर्माणको जिम्मा पाएपछि सेनाले कार्य योजना नै बनाएर काम अघि बढाएको भन्दै वीचमा डिपिआर बनाउन परेकाले केहि समय लागेको बताए। उनका अनुसार डिपिआर स्वीकृति भएर आउने वित्तिकै सुरुङमार्गको काम तत्कालै अघि बढ्ने छ। अहिले सेनाले कटिङ, फिलिङ, कल्भर्ट बनाउने लगायतका कामहरु गरिरहेको बताउँदै उनले करिव २५ किमी खण्ड सडकले आकार लिईसकेको बताए।
कोरियन कम्पनी सुसुङ इन्जिनियरिङ हायर गरेर द्रुतमार्गको डिपिआर तयार पारिएको हो । करिव १० करोड रुपैया लागतमा तयार पारिएको उक्त डिपिआर चैत ५ गते स्वीकृतिका लागि आयोजनाले रक्षा मन्त्रालय पठाएको थियो । मन्त्री परिषदमा पेश गरिएको भएपनि अझै स्वीकृत हुन सकेको छैन्। – बाट















