प्रदेश २ को राजधानीमा पानीको हाहाकार

ए वान डेस्क
१३ असार २०७६, शुक्रबार १५:५४

प्रदेश २ को अस्थायी राजधानी जनकपुरधाममा उपमहानगरपालिकामा खानेपानीको हाहाकार भएको छ। चुरे विनासको असरले पानीको मुहान नै सुकेपछि खानेपानीको हाहाकार भएको हो।

जनकपुरधामका अधिकांश हाते कल सुकेका छन्। कतिपय पोखरीसमेत सुक्न लागेको छन्। चुरे क्षेत्रदेखि करिब ५० किलोमिटरको दूरीमा जनकपुरधाम पर्छ। तर, यहाँ पनि चुरे विनासको असर देखिएको छ। दिन प्रतिदिन पानीको सतह भाँसिदै गएपछि कल, इनार, पोखरी सुक्न लागेको सर्वसधारण बताउँछन्।

गर्मी मौसम सुरु भएदेखि नै कलमा कम पानी आउन थालेको हो। अहिले विस्तारै यहाँका सबै हाते कल सुक्न थालेका छन्। १ सयदेखि तीन सय फिटसम्मको प्रायः हाते कल सुकेको जनकपुरधाम उपमहानगरपालिका ९ का संजय यादवले बताए। ‘ केही क्षेत्रमा ३ देखि साढे ४ सय फिटसम्मका कल सुकेका छैन्। कसै कसैको त अढाइ सय फिटको कलमा पनि हल्का पानी आउँछ भने कतिपयको साढे ४ सय फिटको कलमा पनि पानी आउँदैन’ उनले भने।

हाते कल सुकेपछि खानेपानीको चरम समस्या भएको लहान नगरपालिका ७ का विन्देश्वर साहले जानकारी दिए। उनले भने ‘आंगनमा भएको हाते कल सुक्यो। मिस्त्रीसँग सल्लाह गर्दा सडकमा कल जडान गर्दा पानी आउने भन्यो। तर अढाइ लाख खर्च गरेर सडकमै कल जडान गर्दा पनि पानी आइरहेको छैन’ उनले भने। उनले छिमेकीको कलबाट पानी ल्याएर प्रयोग गरिरहेको बताए। उनका अनुसार छिमेकी कल पनि सुक्ने अवस्थामा पुगेको छ। जनकपुरधाम उपमहानगरपालिकाले खानेपानीको समस्या समाधान गर्न ट्यांकीबाट पानी वितरण गर्ने तयारी गरेको छ।

उपप्रमुख रीता झाले पानीको समस्या भएको ठाउँमा ट्यांकीबाट पानी पुर्‍याउने तयारीमा जुटेको बताइन्। – थाहा खबर

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*