यस वर्ष धानको उत्पादन घट्ने

यस वर्ष धानको उत्पादन घट्ने आँकलन गरिएको छ। गत वर्षको तुलनामा यस वर्ष १० दिन मनसुन ढिला हुँदा धानको उत्पादन घट्ने आँकलन गरिएको हो।

यस वर्ष जुन १० देखि मनसुन हुनु पर्नेमा जुन २० देखि मनसुन सुरू भएको छ। यस वर्ष प्रदेश १, २, ३ र ५ मा औषत भन्दा कम पानी पर्ने मौसम विद्हरूले अनुमान गरेका छन्।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार चालु आर्थिक वर्षमा शतप्रतिशत रोपाइँ भएको थियो। गत वर्ष समयमानै वर्षा हुँदा अघिल्लो वर्षको तुलनामा धानको उत्पादन ८.८९ प्रतिशतले बढेर ५६ लाख १० हजार टन पुगेको थियो।

मन्त्रालयका सहायक प्रवक्ता प्रदिप भटराईका अनुसार असार १० गते सम्ममा ११ प्रतिशत क्षेत्रमा रोपाइँ भएको छ। गत वर्ष सोही अवधिमा १५ प्रतिशत भुभागमा रोपाइँ भएको थियो।

यस वर्ष वर्षा ढिला भएका कारण रोपाइँ हुन सकेको छैन। वर्षा ढिला भएका कारण धान उत्पादनमा कमी आउने वरिष्ठ धान विज्ञ भोलामानसिंह वस्नेत बताउँछन्।

‘धान उत्पादनमा विउ आपूर्ति, मनसुन र मलको भूमिका हुन्छ’, उनले भने, ‘त्यस मध्येमा मनसुन महत्वपूर्ण भएकोले वर्षा ढिला हुँदा धान उत्पादनमा कमी आउन सक्छ।’

उनका अनुसार रोपाइँ ढिला हुँदा धान पोटिलो हुँदैन। फोस्रा धानको तौल कम हुन्छ। तसर्थ धानको उत्पादनमा कमी आउँनेछ। वरिष्ठ वालि विकास अधिकृत प्रकाश आचार्य १० दिन मनसुन ढिला हुँदैमा धान उत्पादनमा कमी नआउने बताउँछन्।

‘अहिले केही समय मनसुन ढिला हुँदैमा धान उत्पादनमा कमी आउँछ भन्ने हुँदैन। अझै पनि मनसुन सक्रिय रहेमा धानको उत्पादन राम्रो हुन्छ’, उनले भने,’पालको कुल गार्हस्थ्य उत्पादनमा कृषि क्षेत्रको योगदान २७ प्रतिशत छ । जसमध्ये ७ प्रतिशत धानले ओगटेको छ।’

धान उत्पादनको कमीले अर्थतन्त्रमा समेत ठूलो असर पर्ने विज्ञहरू बताउँछन्। – सेतोपाटी

You might also like