टी-२० विश्वकप छनोटका लागि नेपाली टिम घोषणा

ए वान डेस्क
१५ असार २०७६, आईतवार १२:४८

आगामी साउन ६ देखि १२ गतेसम्म सिंगापुरमा हुने आइसिसी टी-२० विश्वकप छनोट प्रतियोगिताका लागि नेपालले राष्ट्रिय टिम घोषणा गरेको छ।

प्रशिक्षक उमेश पटवालसहितको छनोट समितिले पारस खड्काको कप्तानीमा १४ सदस्यीय नेपाली टिम घोषणा गरेको हो।

टिममा मध्यक्रमका ब्याट्सम्यान शरद भेषवाकर र यु १९ टिमका कप्तान रोहितकुमार पौडेलले पुनरागमन गरेका छन्।

युएईविरूद्धको पछिल्लो टी-२० सिरिजमा शरद बिरामी तथा रोहित यु १९ विश्वकप छनोकका कारण टिममा थिएनन्।

पहिलो चरणको तयारीपछि राष्ट्रिय टिम अब प्रशिक्षणका लागि मलेसिया जाने कार्यक्रम छ।

मलेसियामा १० दिन प्रशिक्षण गरेपछि नेपाल सिंगापुर जाने छ। छनोट प्रतियोगितामा नेपालसहित ५ टिम सहभागी हुनेछन्।

नेपाल, सिंगापुर, कुवेत, मलेसिया र कतारबीच प्रतिस्पर्धा हुने प्रतियोगिता राउन्ड रोबिनको आधारमा चल्नेछ।

विजेता टिम ग्लोबल छनोटमा पुग्नेछ।

प्रतियोगिताको विजेता भएमा नेपालले अक्टोबर २०१९ मा युएईमा हुने टी–२० विश्वकप छनोटमा प्रतिस्पर्धा गर्न पाउनेछ।

टी–२० विश्वकप छनोटमा जिम्बावेसहित अघिल्लो विश्वकप खेलेका ८ टिमले खेल्ने पक्का भइसकेको छ।

क्षेत्रीय छनोट पार गर्ने बाँकी ६ टिम गरी १४ बीच विश्वकप छनोटमा प्रतिस्पर्धा हुनेछ।

छनोटमा शीर्ष ६ स्थानमा परे नेपालले टी–२० विश्वकप खेल्न पाउनेछ। नेपालले विश्वकप खेल्न आगामी जुलाईमा सिंगापुरमा हुने प्रतियोगितामा च्याम्पियन र अक्टोबरमा हुने अन्तिम प्रतियोगितामा शीर्ष ६ स्थान हात पार्नु पर्नेछ।

नेपालटिम पारस खड्का (कप्तान), अभिनास बोहरा, बसन्त रेग्मी, विनोद भण्डारी, दीपेन्द्रसिंह ऐरी, ज्ञानेन्द्र मल्ल, करण केसी,ललितनारायण राजवंशी, पवन सर्राफ, प्रदीप ऐरी, रोहितकुमार पौडेल, सन्दीप लामिछाने, शरद भेषावकर, सोमपाल कामी रहेका छन्। – एजेन्सी

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*