एनसेल लाभकर मुद्दाको अन्तिम सुनुवाइ हुँदै, के आउला सर्वोच्चको आदेश ?

ए वान डेस्क
२२ असार २०७६, आईतवार १०:५७

निजी क्षेत्रको दूरसञ्चार संस्था ‘एनसेल’को लाभकर विवादको अन्तिम सुनुवाइ आइतबार सर्वोच्चमा हुँदैछ । ५ न्यायाधीशको पूर्ण इजलाशमा केही दिनदेखि निरन्तर सुनुवाइ चलिरहेको छ ।

बुधबार बहस अन्तिम चरणमा रहेको मुद्दामा फैसला सुनाउन नभ्याउने हुँदै आइतबारका लागि राखिएको थियो। बुधबार सरकारी पक्षले बहस समाप्त गरेको र लाभकरका बारेमा आज केही प्रश्नहरुको बारेमा इजलाशले प्रष्टता खोजेको छ। उक्त प्रक्रिया पूरा गरेपछि उक्त मुद्दामा सर्वोच्चले फैसला सुनाउनेछ ।

सर्वोच्चको अघिल्लो फैसलापछि ठूला करदाता कार्यालयले एनसेलसँग ३९ अर्ब ६ करोड रुपैयाँ तिर्नुपर्ने भनी कर निर्धारण गरेको थियो। कर निर्धारणले आफू अन्यायमा परेको भन्दै एनसेलले गत बैसाख ९ गते सर्वोच्चमा रिट निवेदन दायर गरेको थियो ।

एनसेलले १४ अर्ब मात्र आफूले तिर्नुपर्ने दायित्व हुने दाबी गर्दै ठूला करदाता कार्यालयको निर्णयलाई चुनौती दिएको थियो। उक्त निवेदनमा सुनुवाइ गर्दै सर्वोच्चको एकल इजलाशले एनसेल लाभकर विवादमा कर निर्धारण मनासिव नदेखिएको भन्दै बैसाख १३ गते अन्तरिम आदेश जारी गरेको थियो ।

न्यायाधीश बमकुमार श्रेष्ठले एनसेलसँग तत्काल कर असुल नगर्न ठूला करदाता कार्यालयको नाममा अन्तरिम आदेश जारी गरेको थियो ।

२०७४ जेठ २१ गते लाभकरवापत एनसेलले सरकारलाई दाखिला गरेको २ अर्ब २६ करोड २३ लाख ४ हजार ८ सय ५१ रुपैयाँ घटाएर माग गर्ने भनिएपछि उक्त प्रक्रिया अवलम्बन नभएको भन्दै दुबै पक्षको छलफल नभएसम्मका लागि कर असुल नगर्न सर्वोच्चले भनेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*