‘प्राकृतिक विपद व्यवस्थापन प्राधिकरण’ गठन गर्न नेकपा पर्साको माग

ए वान डेस्क
१४ श्रावण २०७६, मंगलवार १५:४५

नेपाल कम्युनिस्ट पार्टी पर्साले बाढी तथा डुवान प्रभावितलाई तत्काल राहत वितरण गर्न माग गरेको छ । पर्साका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्राईमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै राहत दिन माग गरिएको हो ।

नेकपा पर्साले तराई मधेस क्षेत्रमा आउने प्राकृतिक विपदबाट बच्न पूर्वतयारीका लागि काम गर्न अधिकार सम्पन्न ‘प्राकृतिक बिपद ब्यवस्थापन प्राधिकरण’ गठन गर्न माग गरेको छ ।

पार्टीका जिल्ला अध्यक्ष प्रभु हजराको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय गएको नेता कार्यकर्ताहरुको टोलीले ज्ञापन पत्र बुझाएको थियो ।

ज्ञापन पत्रमा पछिल्लो बाढीका कारण डुवानमा परेका परिवारलाई तत्काल सक्दो राहत उपलब्ध गराउन माग गर्नुको साथै १५ वटा बुँदामार्फत प्रधानमन्त्रीको ध्यानाकर्षण गराइएको छ ।

अबिरल वर्षापछि आएको भीषण बाढीबाट पर्सा जिल्लामा भएको धनजनको क्षतिप्रति गम्भीर नेकपा पर्साको गम्भीर ध्यानाकर्षण भएको बताउँदै ज्ञापनपत्रमा तत्काल संघीय सरकारको ध्यान जाओस भन्ने माग गरिएको छ ।

‘विपदबाट तीनजनाको दुःखद मृत्यु हुनुको साथै वीरगञ्ज महानगरपालिकाको झण्डै आधा भूभाग, पोखरिया, छिपहरमाई, कालिकामाई, पकाहामैनपुर, जगरनाथपुर, ठोरी, जिराभवानी लगायतका पालिका डुबानमा पर्दा करोडौंको भौतिक संरचनाहरु ध्वस्त भएको र कृषि क्षेत्रमा ठूलो क्षति भएको छ । मानवीय कार्यमा कुनै पक्षपात र भेदभाव नगरी राहत वितरण हुनुपर्छ,’ ज्ञापनपत्रमा भनिएको छ ।

ज्ञापन पत्रमा प्रदेश दुई सरकार र विभिन्न तहबाट त्यस्ता खाले भेदभावपूर्ण ब्यबहार प्रदर्शन भएको बताउँदै त्यसलाई रोक्न आग्रह गरिएको छ ।

ज्ञापनमा पर्साका बिभिन्न स्थानमा भएको क्षतीको यथार्थ तथ्याङक संकलन गर्नुपर्ने, मृतक परिवारलाई उचित क्षतिपूर्ति दिनुपर्ने, घाइतेको निशुल्क उपचार हुनुपर्ने, बिना पक्षपात राहत वितरण गर्नुपर्ने, चुरे संरक्षणका लागि वैज्ञानिक तरिका अपनाउन, सीमावर्ती क्षेत्रमा निर्माण भएको बाँधका बारे दीर्घकालीन समाधान खोज्न, किसानलाई ऋण मिनाहा, मल खाद्यमा राहत, वीरगञ्ज महानगरमा निर्माण भएको ढकको संरचनामा उठेको प्राबिधिक सवालको छानवीन गर्न र नदी नियन्त्रणको उचित कदम चाल्न माग गरिएको छ ।

ज्ञापन पत्र बुझ्दै पर्साका प्रमुख जिल्ला अधिकारी भट्टराईले बिपदका कारण कुनै नागरिक भोकै खुला आकास मुनी बस्न नपरोस भनी जिल्लामा आवश्यक सतर्कता अपनाइएको बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*