काठमाण्डौको गाईजात्रा सिमरामा : मन्त्रीदेखि मजदुरसम्मले लिए मनोरञ्जन
प्रदिप गौतम /
बाराको सिमरामा भएको प्रदेश–प्रदेशमा गाईजात्रा कार्यक्रममा अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प एक्कासी कार्यक्रम स्थलमा देखिए । नेपाल र नेपालीलाई धन्यवाद दिदै बिना सुरक्षा कार्यक्रम स्थलमा प्रवेश गरेका ट्रम्पले दर्शकलाई नराम्रोसंग झुक्काए ।
झट्ट हेर्दा ट्रम्प जस्तै लाग्ने उनी नेपालका चर्चित हास्य कलाकार मनोज गजुरेल हुन् । एक छिन त मनोज गजुरेललाई पनि चिन्न दर्शकलाई हम्मे हम्मे पर्यो । सिमराको रोयल ईभेन्ट म्यानेजमन्ट भेन्युमा भएको कार्यक्रममा गजुरेलसहित १ दर्जनभन्दा बढि कलाकारहरुले आफ्नो प्रस्तुती देखाएका थिए ।
दर्शक र अतिथिले भरिएको भेन्युमा झन्डै ३ घण्टा गाईजात्राको हासो चल्यो । सामाजिक र राजनितिक बिषयलाई प्राथमिक्ता दिईएको गाईजात्रा कार्यक्रममा कलाकारहरु आफ्नो प्रस्तुती अनुसारको पात्र बनेका थिए ।
गाईजात्रा कार्यक्रममा हास्य कलाकार गजुरेलसहित शैलेन्द्र सिंखडा, सुरेन्द्री केसी (मुला साग), शिवशंकर रिजाल (जोगिन्दर पानवाला), रवी डंगोल, यमन श्रेष्ठ, सुवोध गौतम, पूर्ण थापा, सन्ध्या बुढा (काउली बुढी) सुमन कार्की र रुविना अधिकारीले आफ्नो प्रस्तुती देखाउनुभएको थियो । बिराटनगरबाट शुरु भएको प्रदेश प्रदेशमा गाईजात्रा हिजो बाराको सिमरामा भएको हो ।
होटल तथा पर्यटन व्यवसायी संघ बारा र सिमरा फाउण्डेशनको संयुक्त आयोजनामा सिमरामा भएको कार्यक्रममा दर्शकको उल्लेख्य उपस्थिति रहेको थियो । बषौदेखि काठमाडौंमा मात्र सिमित रहेको गाईजात्रा यसबर्षदेखि सिमरासहित देशका बिभिन्न शहरमा हुन लागेको हो । पर्यटकीय एवं औद्योगिक नगरीको रुपमा विकास भईरहेको सिमरामा पहिलो पटक गाईजात्रा कार्यक्रम भएको हो ।
कार्यक्रमका लागि एक हजार पाच सय, एक हजार र पाच सय गरी तिन किसिमको टिकट दर तय गरिएको थियो । कार्यक्रमलाई सफल बनाउन हिरा बस्नेत संयोजक, अतिथि व्यवस्थापनमा बिरेन्द्र बास्कोटा, प्रचार प्रसारमा शिव श्रेष्ठ, कलाकार व्यवस्थापनमा ईश्वर थपलिया, फिल्ड व्यवस्थापनमा रोसन ठाकुर, गोविन्द लामा, टिकट व्यवस्थापनमा शम्भु खड्गी र सुरक्षा व्यवस्थापनमा धन बहादुुर श्रेष्ठ (डि.बि)को नेतृत्वमा मुल कमिटि बनाईएको थियो ।
छोटो तयारीका बाबजुतपनि कार्यक्रम भब्य रुपमा सम्पन्न भएको आयोजक होटल तथा पर्यटन व्यवसायी संघ बाराका अध्यक्ष मोहन शर्माले बताउनुभयो । सिमरा फाउण्डेशनका अध्यक्ष आरिफ हुसेनले कार्यक्रमलाई सफल बनाउन सहयोगी भुमिका निर्वाह गर्ने सबैलाई धन्यवाद दिनुभयो ।
यसअघि गाईजात्रा कार्यक्रमको प्रदेश नम्बर २ का पर्यटन मन्त्री राम नरेश रायले उद्घाटन गर्नुभएको थियो । उद्घाटन कार्यक्रमको सञ्चालन सञ्चार संयोजक प्रदिप गौतमले गर्नुभएको थियो ।
सिमरा फाउण्डेशनका अध्यक्ष आरिफ हुसेनले स्वागत मन्तब्य व्यक्त गर्नुभएको कार्यक्रमको समापन होटल तथा पर्यटन व्यवसायी संघ बाराका अध्यक्ष मोहन शर्माले गर्नुभएको थियो ।















