सुर्खेतमा बस दुर्घटना : तीनको मृत्यु, २८ जना घाइते
सुर्खेतमा यात्रुबाहक बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । पश्चिम रुकुमको आठबिसकोट नगरपालिका राडीबजारबाट नेपालगञ्ज जाँदै गरेको ना ४ ख ९३१७ नम्बरको रात्री बस दुर्घटना भएको हो । सुर्खेतको हर्रे नजिक बुधबार बिहान भएको दुर्घटनामा २८ जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका डीएसपी रवि रावलकाअनुसार घटनास्थलमा एक जना र कोहलपुर मेडिकल कलेजमा उपचारको क्रममा दुई जनाको मृत्यु भएको छ । बस सडकबाट करिब एक सय ५० मिटर तल खसेको हो। घाइतेमध्ये ६ अवस्था गम्भीर रहेको छ । घटनाको विस्तृत विवरण आउन बाँकी रहेको छ ।















