जीतपुरसिमरामा रामबनटाँडी गोल्ड कप हुने
ए वान डेस्क /
बाराको जीतपुरसिमरा उप–महानगरपालिकामा प्रथम रामबन टाँडी गोल्ड कप २०७६ हुने भएको छ । आयोजक आर.टि युथ क्लबले आज पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिताबारे जानकारी दिएको हो ।
वडा नम्बर ३ रामबनमा हुने प्रतियोगिता यही असोज २ गतेदेखि शुरु हुदैछ । संविधान दिवसको अवसर पारेर आयोजना गर्न लागिएको प्रतियोगिता असोज ११ गतेसम्म चल्नेछ । स्थानीय स्तरमा खेलाडी उत्पादन गर्ने तथा रामबनलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने उदेश्यका साथ आयोजना गर्न लागिएको प्रतियोगितामा १० टिमको सहभागिता रहने आयोजक क्लबका अध्यक्ष दिपक कुमार तामाङ्गले जानकारी दिनुभयो ।
तामाङ्गका अनुसार प्रतियोगितामा आयोजक क्लब आर.टि युथ कलब सहित विरगंज युवा स्पोर्टस, हेटौडा फुटबल एकेडेमी, यूनिटी क्लब विरगंज, चिडिया दह चपुर स्टार क्लब, एपीफ सशस्त्र प्रहरी, पिलुवा, सिमरा–११ बारा, बारा–११ निजगढ नगरपादिलका–११, एनजेजेवाईसी सिमराको सहभागिता रहनेछ । अनुमानित १० लाख रुपैया बजेटमा सञ्चालन हुन लागेको प्रतियोगितामा वडा नम्बर ३ को कार्यालयले मुख्य सहयोगी संस्थाको भुमिका निर्वाह गर्ने भएको छ ।
प्रतियोगीतामा शालिमार सिमेन्ट सह–प्रायोजकको रुपमा रहने अध्यक्ष तामाङ्गले बताउनुभयो । प्रतियोगीताको विजेताले मेडल सहित नगद ५० हजार र उप–विजेताले २५ हजार नगद पाउने आयोजकले जनाएको छ । साथै विभिन्न बिधामा उत्कृष्ट हुनेलाई २÷२ हजार नगद प्रदान गरिनेछ ।
आयोजक क्लबका अध्यक्ष दिपक कुमार तामाङ्गको अध्यक्षतामा सम्पन्न पत्रकार सम्मेलनमा जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष जग्गनाथ घिमिरेको प्रमुख आतिथ्यता रहेको थियो । पत्रकार सम्मेलनमा साविक जीतपुर गाविसका अध्यक्ष एवम नेकपाका नेता देवनारायण चौधरी, जनहित उपभोक्ता समितिका अध्यक्ष अमृतलाल श्रेष्ठ, स्थानिय बुघशमसेर स्याङ्बो, विपिन स्याङ्बो, शुक्र श्रेष्ठ, चिनबहादुर पाख्रिन, मिनबहादुर सिमखडा, सुनिल गुप्ता लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रमको सञ्चालन समाजसेवी सोम लामाले गर्नुभएको थियो ।















