अमलेखगञ्जमा ‘भ्रमण वर्ष २०२०’ को तयारी तिब्र
ए वान डेस्क /
जीतपुरसिमरा उपमहानगरपालका वडा नम्बर २१ को कार्यालय नेपाल भ्रमण वर्ष २०२० को भव्यताका साथ मनाउने तयारीमा जुटेको छ । वडा अध्यक्ष कृष्ण ब. ठकुरीको संयोजकत्वमा गठित ५१ सदस्य मुल समारोह समिति स्वागत समारोहको तयारीमा जुटेको हो ।
भ्रमण वर्ष जनवरी १ (पुस १६) आउन ४ दिन मात्रै बाकी छ । वडा नम्बर २१ को कार्यालय परिषरमा पुस ४ गते बसेको बैठकले तयारीका लागि विभिन्न उपसमितिहरू गठन गर्दै स्वागतको केन्द्रीत भएको हो ।
वडा अध्यक्ष ठकुरीको अध्यक्षतामा गठित मुल समारोह समितिको आर्थिक स्रोत व्यवस्थापन उपसमितिको संयोजकमा रोहित ब. घिसिङ्ग, तुल ब्यानर व्यवस्थापन उपसमितिको संयोजकमा सुर्य ब. खरेल, गेट निर्माण उपसमितको संयोजकमा सुबाष श्रेष्ठ, मञ्च व्यवस्थापन उपसमितिको संयोजक नगेन्द्र श्रेष्ठ, प्रचार प्रसार उपसमितिको संयोजकमा प्रदिप गौतम, सास्कृती उपसमितको संयोजकमा देवेन्द्र कार्की र सरसफाई व्यवस्थापन उपसमितिको संयोजक नारायण लामिछानेको नेतृत्व गठित बिभिन्न उपसमितिले धमाधम काम गरिरहेको छ ।
स्वागत समारोहको लागी विभिन्न कार्ययोजना बनाएको सो समितिले सांस्कृतिक झाँकी तथा र्याली गर्ने, मञ्च तथा गेट बनाउने, मञ्चमा भाषण तथा सांस्कृतिक प्रस्तुति गर्ने कार्ययोजना बनाएको भ्रमण वर्ष मुल समारोह समितिका संयोजक कृष्ण ठकुरीले जानकारी दिनुभयो । भ्रमण बर्ष २०२० को कार्यक्रम वडा नम्बर २१ स्थित हात्तिसार पिक्निक स्पोर्टमा गर्न लागिएको छ । वडा कार्यालयले कार्यक्रम सफल बनाउन अमलेखगञ्जभित्र रहेका सम्पुर्ण संघ संस्थालाई आह्वान गरेको छ ।
स्वागत समारोहको आकषर्ण बढाउन अमलेखगञ्जको बिभिन्न ५ स्थानमा स्वागतद्वार निर्माण गर्न लागिएको छ । स्वागत समरोह स्थल आसपासका ठाउमा अमलेखगञ्जको पर्यटकीय गन्तव्यहरू झल्कने गरी तस्वीरहरू प्रयोग गर्दै आवश्यकता अनुसार होर्डिङ बोर्ड निर्माण गर्ने, पर्यटकीय गन्तव्यहरूको फोटो, कला संस्कृति झल्काउने तस्वीर, पुरातात्विक सम्पदाहरू झल्कने तस्वीरहरू समावेश हुने गरी प्रचारप्रसार उपसमितिले तस्वीरहरू संकलन गरिरहेको संयोजक प्रदिप गौतमले जानकारी दिनुभयो । समितिले पर्यटकीय गन्तव्यको प्रचारप्रसार गर्नका लागि प्रोमोसनल भिडियो र गीत बनाईरहेको छ ।
यसैबिच, स्वागत समारोह हुने स्थल हात्तिसार पिक्निक स्पोर्टमा आज बिहान सरसफाई गरिएको छ । सरसफाई कार्यक्रममा जनप्रतिनिधि, मुल समारोह समितका पदाधिकारी, संघ संस्थाका व्यक्ति, शिक्षक, बुद्धिजिवि, नेपाली सेना लगायतको उपस्थिति रहेको थियो ।
स्वागत समारोहको पुर्व संध्यामा हात्तिसार क्षेत्रलाई स्वच्छ र सफा बनाउन सरसफाई गरिएको वडा नम्बर २१ का वडा अध्यक्ष कृष्ण ठकुरीले जानकारी दिनुभयो ।















