अमलेखगञ्जको गुरुयोजना बनाउनुपर्छ : शिवराज सेढाई
जीतपुरसिमरा उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवराज सेढाईले बिशेष गुरुयोजना बनाएर अमलेखगञ्जमा पर्यटन प्रवद्र्धनका कार्यक्रम अगाडी बढाउनुपर्ने बताउनुभएको छ । प्रदेश मिडिया प्रा.लिले आज जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २१ मा आयोजना गरेको डकुमेन्ट्री बिमोचन तथा बृहत अन्र्तक्रिया कार्यक्रममा बोल्दै सेढाईले यस्तो बताउनुभएको हो ।
अमलेखगञ्ज पर्यटनको प्रचुर सम्भावना बोकेको क्षेत्र रहेकोभन्दै सेढाईले यसको ब्यापक प्रचार प्रसार गरिनुपर्ने बताउनुभयो । अमलेखगञ्जको पर्यटन प्रवद्र्धन गर्ने बिषयमा सम्बद्ध सबै निकायले चासो दिनुपर्नेभन्दै उहाले पर्यटक आवागमनको निम्ति अनुकुल वातावरण बनाउनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा बोल्दै जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २१ का वडा अध्यक्ष कृष्ण ठकुरीले अमलेखगञ्जको पर्यटन प्रवद्र्धन गर्न आफुहरु सधै अग्रसर रहेको बताउनुभयो ।
आफुहरुबाट हुने सक्दो सहयोग पर्यटन प्रवद्र्धनको निम्ति गर्नेभन्दै उहाले सबैको साथ र सहयोगको आवश्यक रहेको बताउनुभयो । जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २१ को सहयोगमा सञ्चालित सो कार्यक्रममा अमलेखगञ्जको बिषयमा तयार पारिएको डकुमेन्ट्री बिमोचन गरिएको थियो । सो डकुमेन्ट्री प्रदेश मिडिया प्रा.लिले निर्माण गरेको थियो । कार्यक्रममा वडा नम्बर २१ का वडा सचिव बालाराम खड्काले स्वागत मन्तब्य व्यक्त गर्नुभएको थियो ।
कार्यक्रमको सञ्चालन प्रदिप गौतमले गर्नुभएको थियो ।















