कोरोना भाइरसः सरकारलाई यी १२ काम गर्न प्रभु साहको सुझाव
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश २ का अध्यक्ष प्रभु साहले कोरोना भाइरस (कोभिड–१९) को संक्रमण रोकथाम एवं नियन्त्रणका लागि सरकारलाई १२ काम गर्न सुझाव दिएका छन् ।
रौतहटको कटहरीया, देवाही गोनाही, बौधिमाई, बंकुल, मौलापुर सहित बिभिन्न ठाउँमा रहेका क्वारेन्टाइनहरुको अनुगमन, निरिक्षण, सल्लाह गर्दै संघीय सरकार सहित सम्बन्धित निकायले तत्कालै गर्नुपर्ने काम उनले गर्न सुझाव दिएका छन् ।
रौतहट ३ का सांसद एवं पुर्व मन्त्री समेत रहेका प्रदेश अध्यक्ष साहले स्थानीय जनप्रतिनिधि, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी लगायतकासंग छलफल गरेका थिए । साथै उनले नेपाल–भारत सीमाको निरिक्षण एवं अन्तरक्रिया गर्दै सो क्षेत्रहरुमा रहेका समस्या, उपलब्धिको बारेमा जानकारी लिएका छन् ।
बिभिन्न कवारेन्टाईनहरूको अनुगमन स्थानीय जनप्रतिनिधि, स्वास्थ्यकर्मी एवं सुरक्षाकर्मीहरुसंगको छलफल तथा नेपाल–भारत सीमाको निरीक्षण एवं अन्तरक्रिया पश्चात आएका विभिन्न सुझावका साथै व्यक्तिगत अनुभूति एवं अनुभवहरूको आधारमा नेपाल सरकार लगायत सम्बन्धित पक्षहरू तत्कालै यि १२ काम गर्नुपर्ने सुझाव उनले दिएका छन ।
१. रोजगारी तथा अध्ययनका लागी विदेशमा रहेका र अहिले स्वदेशरनेपाल फर्कन ईच्छुक नेपाली नागरिकहरुका लागी आवश्यक संख्यामा सुरक्षित एवं व्यवस्थित सुविधासम्पन्न कोरेनटाईनहरु तत्काल (युद्ध स्तरमा) निर्माण गरी वहाँहरुको उद्धारको पूर्ण तयारी गर्ने ।
२. समयमैं संक्रमित पहिचानका लागी परिक्षणको दायरा बढाउन प्रत्येक जिल्ला–जिल्लामा पिसिआर प्रविधि सहितको कोराना परिक्षणशाला निर्माण गर्नुपर्ने ।
३. अन्य जेनरल बिरामी उपचारका लागी बनाईएको पुरानो संरचनाका अस्पतालहरुमा सहज एवं सुरक्षित ढंगबाट कोभीड–१९ को उपचार सम्भव नदेखिएकोले तत्काल आवश्यक संरचना सहितको सुविधासम्पन्न कोराना विशेष अस्पतालहरु निर्माण गर्नुपर्ने ।
४. स्थानीय तहहरुले हतारमा बनाएको कोरेनटाईनहरुमा सरसफाई, खानपान, स्वास्थ्य सुरक्षा, आवश्यक भौतिक संरचना अभाव लगायतका विभिन्न समस्याहरु देखापरेकोले समस्याहरुको निराकरण गर्न तत्काल यसलाई थप व्यवस्थित, सुविधासंपन्न एवं सुरक्षित बनाउने गरी स्तरोन्तीको कार्यमा जोड दिनुपर्ने ।
५. कोरेनटाईन, अस्पताल, हाट–बजार लगायतका सार्वजनिक स्थलहरुलाई निरन्तर सरसफाई तथा सेनिटेशन (सेनिटाइज) गरी राख्नुपर्ने ।
६. जनजीवीका र हाम्रो अर्थव्यवस्थाको प्रमुख आधार कृषि लगायतका उत्पादन पेशामा संगलग्न किसानका मूलभूत समस्याहरूलाई मध्यनजर गर्दै विउ–विजन, मल–खाध तथा दानाको उचित प्रबन्ध सहित सहज एवं सुलभ उपलब्धताको ग्यारेन्टी गर्नुपर्ने ।
७. अहिलेको धमिलो पानीमा माछा मार्न खोज्ने केहि संवेदनहीन दलाल व्यापारी, भ्रष्ट कर्मचारी तथा नैतिकता विहीन जनप्रतिनिधिहरु कृतिम अभाव, मूल्यवृद्धि, मिसावट, म्याद गुज्रेको तथा गुणस्तरहीन बस्तुमा कालोबजारी तथा पिसी–कमीशनको खेलमा सक्रिय रहेको देखिएकोले समयमैं यस समस्याको निगरानी, नियन्त्रण तथा निवारणका लागी अधिकारसम्पन्न संयन्त्रलाई शशक्त रुपमा परिचालित गर्नुपर्ने ।
८. फिल्डमा खटिरहेका केहि स्वास्थ्यकर्मिहरु समेत कोराना भाईरसको बारेमा पुरै अनभिज्ञ रहेकोले वहाँहरुलाई भिडियो कल कन्फ्रेन्स मार्फत भएपनि तत्काल आधरभूत तालिम दिनुपर्ने ।
९. बाहिरबाट आउनेहरुलाई थर्मो(गनले तापक्रम मापन गरेर घर पठाउने काम पनि धेरै ठाउँमा भईरहेको देखिएकोले यसलाई तत्काल रोक्नुपर्ने र बाहिरबाट आउने जो कोहीलाई अनिवार्य कोरेनटाईनमा राख्नुपर्ने र चेकजाँचको रिपोर्ट पछि मात्रै घर पठाऊने ।
१०. नेपाल–भारत सिमामा सुरक्षाकर्मिहरुको शशक्त उपस्थिति र कडाई रहेता पनि लुकीछीपी आउने–जानेक्रम नरोकिएकोले यसमा विशेष ध्यान दिनुपर्ने ।
११. लकडाउनको मौका छोपी वन–जंगल फडानी एवं काठ तस्करी तथा नदीबाट बालुवा–गिट्टीको अनियन्त्रित चोरी निकासी भईरहेकोले तत्काल रोक्नुपर्ने ।
१२. बर्खासंगै हुने प्राकृतिक जोखिमहरुलाई ध्यानमा राखी आवश्यक बाँध–तटबन्ध तथा नदी नियन्त्रणका कार्यहरु, रणनैतिक महत्वका सडकहरु सुचारू राखी÷राख्न पुल–कल्भर्ट लगायतका आवश्यक पुर्वधार निर्माण कार्य अगाडि बढाउनुपर्ने आदि..।















