शुरु भयो दुधौरा महोत्सव २०७७, फागुन ११ गतेसम्म चल्ने

ए वान डेस्क /
पर्यटकीय क्षेत्रको रुपमा विकास हुदै गईरहेको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १४ स्थित दुधौरा मैदानमा दुधौरा महोत्सव २०७७ शुरु भएको छ । महोत्सवको आज एक कार्यक्रमकाबिच उद्घाटन गरिएको छ ।
कार्यक्रमका प्रमुख अतिथि जीतपुरसिमरा उपमहानगरपालिका प्रमुख प्रशासकीय अधिकृत चेत कुमार पोखरेलले महोत्सवको उद्घाटन गर्नुभएको थियो । महोत्सवको उद्घाटन गर्दै प्रमुख प्रशासकीय अधिकृत पोखरेलले दुधौरा मैदानलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न उपमहानगर तयार रहेको बताउनुभयो ।
दुधौरा पार्क निर्माण गर्न उपमहानगरले बिशेष गुरुयोजना बनाईरहेकोभन्दै उहाले सबैका साथ र सहयोगले मात्र यो कार्य सम्भव हुने बताउनुभयो । ‘बिशेष गुरुयोजना बनाएर दुधौरामा पार्क बनाउने बिषयमा हामी गंभिर छौ, यसमा सबैको साथ र सहयोग आवश्यक छ’ उहाले भन्नुभयो ।
कार्यक्रममा बोल्दै जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १४ का वडा अध्यक्ष रामशरण बर्तौलाले दुधौरामा पार्क बनाउने बिषयमा वडाले बिशेष पहल गरिरहेको बताउनुभयो । ‘दुधौरा मैदानमा हामीले सहिद पार्क बनाउने योजना बनाएका छौ, त्यो योजना अनुसार पार्क बनाउन हामी लागिपरेका छौ’ उहाले भन्नुभयो ।
कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी नेकपाका नगर अध्यक्ष कृष्ण खनाल, पत्रकार प्रकाश लम्साल लगायतले शुभकामना मन्तब्य व्यक्त गर्नुभएको थियो । द लिड ईन्टरटेनमेन्ट एण्ड एडभरटाईजिङ प्रा.लि विरगञ्जका अध्यक्ष बिमल खड्कीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन प्रदेश मिडिया प्रा.लिका अध्यक्ष प्रदिप गौतमले गर्नुभएको थियो ।
कार्यक्रममा प्रदेश मिडिया प्रा.लि सिमराका सञ्चालक विकास पाण्डेले स्वागत मन्तब्य व्यक्त गर्नुभएको थियो । कार्यक्रममा वडा नम्बर ३ का वडा अध्यक्ष जगन्नाथ घिमिरे, वडा नम्बर ११ का वडा अध्यक्ष बिनोद यादव, वडा नम्बर १६ का वडा अध्यक्ष केदारनाथ घिमिरे, वडा नम्बर २३ का वडा अध्यक्ष अस्लम देवान, मद्धपी तथा सेवा गुल्म औराहका प्रहरी निरिक्षक जिवन बस्नेत, महोत्सवको मुख्य प्रायोजक चौधरी गु्रपका प्रदेश नम्बर २ का एजिएम सतेन्द्र झा, चौधरी गु्रपका एरिया ईन्चार्ज प्रविन सिंह, नेपाल आईसका नारायणी प्रमुख नविन सिंह, रियो कम्पनीका नारायणी प्रमुख प्रविन झा, वाईवाई कम्पनीका नारायणी प्रमुख उमेश साह, ईलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायव निरिक्षक कलम बहादुर शाही, अस्थायी प्रहरी चोकी रजघट्टाका प्रहरी सहायक निरिक्षक ह्ृदयसराउत कम्कर लगायतको उपस्थिति रहेको थियो ।
आजदेखि शुरु भएको महोत्सव फागुण ११ गतेसम्म चल्नेछ ।