जीतपुरसिमरामा कोरोना रोकथाम गर्न वडाले देखायो चासो
ए वान डेस्क /
जीतपुरसिमरा उपमहानगरपालिकामा कोरोना संक्रमणको रोकथाम र नियन्त्रण गर्न वडाले चासो देखाएको छ । वडा नम्बर १५ स्थित डुमरवानामा सम्पन्न सर्वपक्षिय छलफल पश्चात वडा नम्बर १३, १४ र १५ ले रोकथाम र नियन्त्रण गर्ने बिषयमा चासो देखाएको हो ।
जस अनुरुप वडा नम्बर १३ ले आफ्नो बजेटबाट एक लाख, १४ र १५ ले तिन–तिन लाख गरी सात लाख रुपैया बराबरको सामाग्री खरिद गर्ने भएका हुन् । सात लाख रुपैया बराबरको रकमबाट अत्यवाश्यक औषधी र सिलिण्डर अक्सिजन ग्यास खरिद गर्ने निर्णय भएको वडा नम्बर १४ का वडा अध्यक्ष रामशरण बर्तौलाले जानकारी दिनुभयो ।
वडा नम्बर १३ का वडा अध्यक्ष राजेन्द्र चौधरी, वडा नम्बर १४ का वडा अध्यक्ष रामशरण बर्तौला र वडा नम्बर १५ का वडा अध्यक्ष रामप्रसाद लामिछानेसहित वडा सदस्यहरुको बिशेष उपस्थितिमा भएको छलफलमा यस्तो निर्णय भएको हो । साथै बैठकले स्वास्थ्य सामाग्री खरिद गरि बिमारीको सेवामा निरन्तर लागि पर्ने निर्णय पनि गरेको वडा अध्यक्ष बर्तौलाले जानकारी दिनुभयो ।
सर्वपक्षिय भेलाको निर्णय अनुसार सचेतना र स्वास्थ्य मापदण्ड पालनाका लागि माइकिङ समेत गरिएको छ । अस्थायी प्रहरी चौकी डुमरवानासंगको सहकार्यमा तिनै वटा वडामा माईकिङ गरिएको उहाले बताउनुभयो ।















