उपत्यकामा फेरि निषेधाज्ञा थप्ने तयारी, भोलि तीन सीडीओको बैठक

ए वान डेस्क
१० जेष्ठ २०७८, सोमबार २०:०९

उपत्यकामा फेरि निषेधाज्ञा थप्ने तयारी गरिएको छ । कोभिड–१९ भाइरस संक्रमणको दर नघटेको भन्दै निषेधाज्ञा थप्ने तयारी गरिएको हो ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले निषेधाज्ञा थप्नेबारे छलफल भइरहेको बताए । उनले भने, ‘भोलि दिउँसो भर्चुअल माध्यमबाट यसविषयमा ललितपुर र भक्तपुरका सीडीओ सा’बसहितको बैठक बस्दैछौं ।’

बैठकअघि गृह मन्त्रालयमा पनि निषेधाज्ञा कति समय थप्नेबारे छलफल हुनेछ । यद्यपि, हालसम्म एक साता निषेधाज्ञा थप्ने विषयमा गृहमन्त्रलाय र तीन प्रमुख जिल्ला अधिकारीहरुको मत छ ।

दोस्रो लहरको संक्रमण बढ्दै गएपछि उपत्यका प्रशासनले १६ वैशाख गतेदेखि निषेधाज्ञाको आदेश जारी गरेको थियो । त्यसपछि २२ वैशाखमा पुनः एक साता थपिएको निषेधाज्ञा ३० वैशाखमा पुनः दुई साताका लागि थपिएको थियो ।

तर, यो अवधिमा पनि संक्रमण दर नघटेपछि फेरि निषेधाज्ञा थप्ने तयारी गरिएको हो । स्वास्थ्य मन्त्री हृदयश त्रिपाठीले सोमबार पत्रकार सम्मेलन गरेर आगामी चार सातामा संक्रमण क्रमशः घट्दै जाने बताएका छन् ।

गृहसचिव महेश्वर न्यौपानेले पनि हालै तीन सुरक्षा निकायका प्रमुखलाई बोलाएर निषेधाज्ञाको कडा कार्यान्वयन गर्न निर्देशन दिएका छन् ।

नेपाल प्रहरीका आईजीपी शैलेश थापा क्षेत्री, सशस्त्र प्रहरी बलका शैलेन्द्र खनाल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेश अधिकारीलाई बोलाएर उनले कोभिड–१९ अध्यादेशअनुसार निषेधाज्ञाको कार्यान्वयन गर्न निर्देशन दिएका हुन् ।

अध्यादेशमा अनुमतिविना वा बिरामी ओसारपसार गर्ने प्रायोजनबाहेक सवारीसाधन चलाएर कारबाही गर्नसक्ने व्यवस्था छ । त्यस्तो अवस्थामा दुईपांग्रेलाई दुई हजार र अन्य सवारीसाधनलाई ५ हजार जरिवाना तिराउन सक्ने भनिएको छ ।

मास्क नलगाइ सार्वजनिक स्थलमा आवतजावत गर्नेलाई पनि पटकैपिच्छे एक सय रुपैयाँ तिराउन सक्ने व्यवस्था छ । साथै, हिंडडुलमा रोक लगाएको अवस्थामा विना काम निस्किनेलाई दुई सय रुपैयाँ तिराउन सक्ने भनिएको छ ।

शनिबार न्यौपानेले ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई परिपत्र गरेर निषेधाज्ञाको कडाइका साथ कार्यान्वयन गर्न पनि निर्देशन दिएका थिए ।

काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीका अनुसार अध्यादेशअनुसार निषेधाज्ञालाई कडाइ गर्दै लैजान थालिसकिएको छ । उनले भने, ‘आज नागरिकलाई जानकारीका लागि सूचना पनि जारी गरेका छौं, अब निषेधाज्ञा थप कडा हुनेछ ।’

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*