जीतपुरसिमरामा शुरु भयो वडा अध्यक्ष कप फुटबल प्रतियोगिता
ए वान डेस्क /
जीतपुरसिमरा उपमहानगरपालिकामा वडा नम्बर १५ मा आजदेखि वडा अध्यक्ष कप फुटबल प्रतियोगिता शुरु भएको छ । न्यु सुन्दरबस्ती युवा क्लबको आयोजनामा सुन्दरबस्ती खेल मैदानमा आजदेखि प्रतियोगिता शुरु भएको हो ।
प्रतियोगिताको एक कार्यक्रमकाबिच वडा नम्बर १५ का वडा अध्यक्ष रामप्रसाद लामिछानेले उद्घाटन गर्नुभएको थियो । उद्घाटन कार्यक्रममा बोल्दै वडा अध्यक्ष लामिछानेले खेल क्षेत्रको प्रवद्र्धनको निम्ति वडाले सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो । खेल क्षेत्रमार्फत समाज परिवर्तन गर्न सकिने भन्दै उहाले प्रतियोगिता सफल्ताको कामना गर्नुभयो ।
कार्यक्रममा वडा नम्बर १४ का वडा अध्यक्ष रामशरण बर्तौला, वडा नम्बर १६ का वडा अध्यक्ष केदारनाथ बजगाई, वडा नम्बर २१ का वडा अध्यक्ष कृष्ण ठकुरीसहित बिभिन्न राजनितिक दल एवं संघ संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । क्लबका अध्यक्ष रबिन्द्र गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सञ्चारकर्मी सुनिल गाउलेले गर्नुभएको थियो । प्रतियोगिता अन्र्तगत आज भएको पहिलो खेलमा वडा नम्बर १५ विजयी भएको छ ।
वडा नम्बर ११ लाई १–० गोल अन्तरले पराजित गर्दै वडा नम्बर १५ ले विजय शुरुवात गरेको हो । वडा नम्बर १५ का लागी सविन घलेले निर्णायक गोल गरेका थिए । प्रतियोगिता अन्र्तगत भोलि वडा नम्बर ४ र १३ बिच खेल हुने आयोजक क्लबका अध्यक्ष रबिन्द्र गुरुङले जानकारी दिनुभयो ।
आजदेखि शुरु भएको वडा अध्यक्ष कप फुटबल प्रतियोगिता असोज २५ गतेसम्म चल्नेछ । प्रतियोगितामा २४ वटा वडाका २४ टिमले सहभागिता जनाउने अध्यक्ष गुरुङले बताउनुभयो । प्रतियोगिताको बिजेताले ५० हजार र उप बिजेताले २५ हजार रुपैया पाउने अध्यक्ष गुरुङले बताउनुभयो । गुरुङका अनुसार प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई ५ हजार नगद प्रदान गरिनेछ ।















