कोसीबाट बारा हुदै पर्सा पुगेको हात्तीले धानबाली नष्ट गर्दै
कोसी टप्पु आरक्षबाट पर्सा आइपुगेको हात्तीको समूहले यहाँका किसानको धानबाली नष्ट गर्न थालेको छ । आइतबार रातिदेखि राष्ट्रिय वनबाट गाउँ पसेको हात्तीको समूहले पर्सागढी नगरपालिका- ३ झबराहाका किसानको खेतमा पाकेको धानबाली नष्ट गर्न थालेको स्थानीय बलिराम शुक्लाले जानकारी दिए ।
‘३-४ वटाको समूहमा आउने गरेको हात्तीले रातको समयमा किसानको धानबाली नष्ट गरिरहेको छ,’ उनले भने, ‘प्रकाश लोप्चन, नरबहादुर क्षेत्री, गणेशलाल लामा, सुनालाल स्याङ्बो, रामबहादुर बस्नेतलगायत किसानको करिब डेढ बिघा खेतको धानबाली हात्तीले नष्ट गरिसकेको छ ।’ हात्तीको समूह मानव बस्तीमा प्रवेश गर्न सक्ने भयले स्थानीय त्रसित रहेको उनले बताए ।
पर्सा राष्ट्रिय निकुन्जका प्रमुख संरक्षण अधिकृत एवम् हात्ती विशेषज्ञ अशोक रामले यो समय हात्तीको मुभमेन्टको समय रहेको बताए । ‘हामी हाम्रो जनशक्ति परिचालन गरेर हात्तीको आवागमनलाई ट्रयाकिङ गरिरहेका छौं,’ उनले भने, ‘हाल पर्साको मानव बस्ती नजिक आइपुगेको हात्तीको समूह कोसी टप्पुबाट सिन्धुली, सर्लाही, रौतहट, बारा हुँदै यहाँ आएको हो ।’ यस क्रममा हात्तीको यो समूहले करिब १ सय ५० किलोमिटर लामो यात्रा तय गरिसकेको छ ।
बाराको वन क्षेत्रमा केही दिन बसेको हात्तीको यो समूह त्यहाँ आउनुअघि पर्सा निकुन्जको हल्खोरिया दह, रतनपुरी, अमलेखगन्ज, आधाभार हुँदै झबराहातर्फ लागेको उनले जानकारी दिए । ‘जंगली हात्तिले बर्सेनि यसै सिजनमा लामो यात्रा तय गर्छन् । हामीले यही समूहलाई २ वर्षयता ट्रयाकिङ गरेका छौं,’ उनले भने, ‘सुरुमा यो समूहमा रहेका हात्तीमध्ये एउटा हात्ती एक्लै थियो र अर्को समूहमा २/२ वटा हात्ती रहेका थिए, अहिले सबै एकै समूहमा देखिन थालेका छन् ।’ यो हात्तीको समूह हालसम्म पर्सा निकुञ्जको हात्तीको समूहसँग मिसिन सकेको छैन ।
विगत्मा चितवन राष्ट्रिय निकुञ्ज र वरपरका क्षेत्रहरूमा समेत ठूलो जनधनको क्षति पुर्याएका ध्रुवे र गोविन्दे हात्ती पनि पूर्वबाटै लामो यात्रा तय गरेर चितवनसम्म पुगेको उनले बताए ।















