बारामा महाशिवरात्रि पर्व धुमधामका साथ मनाइँदै
ए वान डेस्क /
आराध्यदेव भगवान शिवको पूजा–आराधना गरी आज बारामा पनि महाशिवरात्रि पर्व मनाइँदै छ । हिन्दू धर्मावलम्बीहरुले बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरी जिल्लाका विभिन्न शिवालयमा गई श्रद्धा भक्तिपूर्वक महादेवको पूजा–आराधना गरिरहेका छन ्।
फागुन कृष्ण चतुर्दशीका दिन मनाइने यो पर्वलाई सम्पूर्ण दीनदुःखी र कष्टपूर्ण अवस्थामा रहेका प्राणीको हृदयमा धर्मको उदय गराउने आशुतोष भगवान शिवको अति प्यारो दिनका रूपमा पनि लिइन्छ ।
व्रतमध्ये सर्वोत्तम कहलिएको महाशिवरात्रिका दिन भक्तजनले शुद्ध भई शिव मन्दिरमा पूजा–अर्चना गरी व्रत बस्ने र भगवान शिवको प्रिय वस्तु दूध, धतुरो र बेलपत्र चढाउने गर्छन् ।
यस पर्वका दिन उपवास गरी रातभर जाग्राम बसे सर्वसिद्धि लाभ भई यमलोक जानु नपर्ने धार्मिक विश्वास छ ।
यस दिन भगवान महादेवलाई जाडो हुने जनविश्वासले प्रत्येक घर, चोक र मठमन्दिरमा दाउरा मागेर धुनी जगाई भजनकीर्तनका साथ सोही आगोमा प्रसाद बनाई ग्रहण गरिन्छ ।
शिवधुनीपछि जाडो बिदा हुने जनविश्वास रहेको छ । जिल्लाको सिमरा, पथलैया, निजगढ, डुमरवाना लगायतका मन्दिरमा सहज रुपमा शिवको दर्शन गर्न र शिवरात्रि पर्वको मेला हेर्ने व्यवस्था मिलाईएको छ ।















