शुरु भयो दुधौरा रमाईलो मेला, नगर प्रमुखले गरे उद्घाटन

जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. ४ र १४ लाई जोड्ने दुधौरा खोलामा आजदेखी दुधौरा रमाईलो मेला सुरु भएको छ । मेलाको जीतपुरसिमरा उपमहानगरपालिकाका नगर प्रमुख राजन पौडेलले उद्घाटन गर्नुभएको छ । महोत्सवको उद्घाटन गर्दै नगर प्रमुख पौडेलले जितपुरसिमरामा मेला महोत्सवलाई व्यवस्थित गर्नुपर्ने बताउनुभयो । रमाईलो गर्न मात्र महोत्सव गर्न नहुने भन्दै उहाले व्यापार व्यवसायको प्रवर्द्धन गर्न बिशेष जोड दिनुपर्ने बताउनुभयो । उहाले नगरको समग्र बिकाशमा ध्यान दिनसमेत सबैलाई आग्रह गर्नुभयो । कार्यक्रममा बोल्दै उप प्रमुख भोला प्रसाद अधिकारीले नगरको चौतर्फी बिकाशमा सबै लाग्नुपर्ने बताउनुभयो । कार्यक्रममा वडा नम्बर १४ का वडा अध्यक्ष चयन मगर, १५ का अध्यक्ष रामप्रसाद लामिछाने, चेम्बर अफ कमर्स बाराका अध्यक्ष रुपेश पोख्रेल, नगर अध्यक्ष मनलाल श्रेष्ठ राजु लगायको उपस्थिती रहेको थियो । आयोजक द लिड ईन्टरटेनमेन्ट एण्ड एडभरटाईजिङ प्रालिका अध्यक्ष बिमल खड्गीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सन्चालन सन्चारकर्मी सुनिल गाउलेले गर्नुभएको थियो । द लिड इन्टरटेन्टमेन्ट एण्ड एड्भरटाईजिङको मुख्य आयोजना र युजा समाज डुमरवानाको सह आयोजनामा महोत्सव शुरु भएको हो ।

माघ २० गतेसम्म संचालन हुने मेलाले स्थानीय व्यापारव्यवसायलाई प्रवर्द्धन गर्ने लक्ष्य लिएको छ । मेलामा व्यवसायसंगै राष्ट्रिय तथा स्थानीय कलाकारको मनोरञ्जनात्मक प्रस्तुति रहने आयोजक लिड इन्टरटेन्टमेन्टका अध्यक्ष बिमल खड्गीले जानकारी दिएका छन् ।

जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. १४ को व्यवस्थापकीय सहयोगमा हुन लागेको मेलामा ५० वटा व्यवसायिक स्टल रहनेछन् । मेला आयोजकले बालबालिकाका लागि बाल उद्यान र सेल्फी जोन राख्ने तयारी गरेको छ ।

मेलामा प्रमोद खरेल, मिस्टर डी, प्रकाश सपुत, पशुपति शर्मा, अस्मिता अधिकारी, ज्योती मगरलगायत ५० जना भन्दा कलाकारको प्रस्तुति रहने अध्यक्ष खड्गीले जानकारी दिए ।

You might also like