पर्सामा पप्पु कन्स्ट्रक्सनको मनलाग्दी : बालुवाको ठाउँमा माटो प्रयोग

ए वान डेस्क
२३ माघ २०७९, सोमबार १९:१०

गुणस्तरीय सामग्री प्रयोग नगरेको पाइएपछि वीरगञ्ज महानगरपालिकाले पप्पु कन्स्ट्रक्सनको निर्माण कार्यमा रोक लगाएको छ।

वीरगञ्ज महानगरपालिका–२५ सिर्सिया खल्वाटोलास्थित पुल निर्माणमा गुणस्तरहिन सामग्री प्रयोग गरिरहेको भेटेपछि महानगरका मेयर राजेशमान सिंहले निर्माणमा रोक लगाएका हुन्।

प्राविधिक टोलीसहित अनुगमनमा गएका मेयर सिंहले निर्माण कम्पनीले बालुवा प्रयोग गर्नुपर्नेमा पाङ्गो माटो प्रयोग गरेर ढलान गर्न लागेको भेटेको बताए। त्यसपछि मेयर सिंहले निर्माण कार्य रोक्न ठाडो निर्देशन दिएका हुन्।

सघन शहरी विकास आयोजनाले २०७४ सालमा पुल निर्माणका लागि ठेक्का दिएको थियो। तर, निर्माण कम्पनीले काम अलपत्र छाडेको थियो। अहिले आएर निर्माण गरिएको कम्पनीले गुणस्तरीय सामान प्रयोग नगरेको पाइएको हो।

तत्कालका लागि काम रोकिएको र स्टिमेट अनुसारको सामग्री ल्याएर जाँच गराएपछि मात्रै काम अघि बढ्ने मेयर सिंहले बताए।

सघन शहरी विकास आयोजना कार्यालयले समेत पुल निर्माणमा कमसल सामग्री प्रयोग गरेको पाइएको जनाएको छ। सघन शहरीले महानगरका विभिन्न १७ सडकको ठेक्का लगाउँदा यो पुलको काम पनि पप्पु कन्स्ट्रक्सनले सकार गरेको थियो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*