त्रिशूलीमा बस खस्दा आठ जनाको मृत्यु, घाइते १३ लाई काठमाडौँ ल्याइँदै, उद्धार जारी
काठमाडौँबाट पोखरा जाँदै गरेको बस धादिङको गजुरी गाउँपालिका–२ चालिसेस्थित छहराबाट त्रिशूली नदीमा खस्दा आठ जनाको मृत्यु भएको छ ।
काठमाडौँबाट पोखरा तर्फ जाँदै गरेको प्रदेश ३–०१–००५ ख ९९५२ नं बस अनियन्त्रित भई त्रिशूली नदीमा खस्दा आठ जनाको मृत्यु हुनुका साथै १७ जना घाइते भएका छन् ।
इलाका प्रहरी कार्यालय गजुरीका डीएसपी मदनबहादुर कुँवरका अनुसार घटनास्थलबाट आठ जनाको शव निकालिएको छ । उद्धार गरिएका १७ मध्ये चार जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको छ भने बाँकी १३ जनालाई थप उपचारका लागि काठमाडौँ ल्याइँदै छ ।
वर्षा भएका कारणले उद्धारमा कठिनाइ भएको डीएसपी कुँवरले बताए । उनका अनुसार खोँचका साथै गाडी मुनि कोही च्याँपिएका छन् कि भनेर खोज्ने क्रम जारी रहेको छ ।
उनले कोही बगेको हुन सक्ने बारेमा घाइतेहरु बोल्न सक्ने अवस्थामा नभएकाले यकिन भन्न नसकिएको बताए । बसमा कति जना सवार थिए भन्ने यकिन हुन नसकेको पनि डीएसपी कुँवरले बताए ।















