चार वडामा लघु उद्यम कार्यक्रम संचालन गर्दै जीतपुरसिमरा

बाराको जीतपुरसिमरा उपमहानगरपालीकाले आफ्ना ४ वडामा लघु उद्यम विकास कार्यक्रम संचालन गर्न सुचना निकालेको छ । २४ वडा मध्ये बिभिन्न मापदण्डमा रहेर ४ वटा वडालाई छनौट गरी १ सय ५५ जनालाई नयाँ उद्यमी सिर्जना गर्न तयारी थालेको हो ।
गरिवी निवारणका लागी लघु उद्यम विकास कार्यक्रम संचालन निर्देशिका २०७७ बमोजिम उपमहानगरका ३, १६, २१ र २४ नम्बर वडाका १ सय ५५ जनालाई नयाँ उद्यमी बनाउने लक्ष्य अनुरुप काम अगाडी बढाएको नगरपालीकाको उद्यम विकास शाखाका वरिष्ठ उद्यम सहजकर्ता दिप नारायण चौधरीले जानकारी दिए ।
यसअघि नगरले ११ वटा वडामा यो कार्यक्रम संचालन गरिसकेको छ । २०७७ सालबाट उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालय (मेडपा) अन्तर्गत रहेर नगरले ७७ सालमा नगरका ६, १९, २० र २२ वडामा यो कार्यक्रम सुरुवात गरेको थियो ।
त्यसैगरी लगातार अघिल्लो वर्षहरुमा नगरका २४ वडाहरु मध्ये ५, ८, ११, १२, १३, १७ र १८ नम्वरमा यो कार्यक्रम सुरु भएको छभने यो आर्थिक वर्षमा नयाँ ४ वडामा कार्यक्रम संचालन गरी १५५ जना नयाँ उद्यमीलाई लक्षित गरिएको चौधरीले बताए ।
बिशेषगरी न्युन आय भएका र गरिवीको रेखा मुनी रहेका तथा वैदेशिक रोजगारीबाट फर्किएकाहरुलाई यो कार्यक्रमले लक्षित गरेको छ ।
कार्यक्रम अन्तर्गत छनौटमा परेकाहरुलाई स्वरोजगार वा उद्यमी बन्नका लागी आवश्यक तालिम , प्रविधि र वैंकसंगको साझेदारीमा आवस्यक लगानी लगाएत सवैको व्यवस्थापन गर्नेछ भने उद्यमीले उत्पादन गरेको वस्तुलाई वजारीकरण गर्नेसम्मको जिम्मा यो कार्यक्रमको रहेको चौधरीको भनाई छ ।