काचुली फेर्दै जीतपुरसिमरा अस्पताल : आफ्नै फार्मेसीदेखि औषधीमा ५० प्रतिशत छुटसम्म

ए वान डेस्क /
बाराको सिमरामा रहेको जीतपुरसिमरा अस्पतालले काचुली फेर्दै गएको छ । वडा नम्बर २ स्थित सिमराको मुख्य चोकमा रहेको जीतपुरसिमरा अस्पताल यतिखेर आफूलाई सुधार्ने र स्वरूप फेर्ने क्रममा लागेको छ ।
पहिले सीमित जनशक्तिबाट उपचार सेवा दिदै आएकोमा १५ शैयाको यो अस्पतालमा अहिले १ जना विशेषज्ञसहित ४ जना मेडिकल अफिसर कार्यरत रहेको अस्पतालले जनाएको छ । प्राथमिक स्वास्थ्य केन्द्रको रुपमा रहेको अस्पतालाई जीतपुरसिमरा उपमहानगरपालिकाले स्तरउन्नती गरेपछि अस्पतालको मुहार फेरिन थालेको हो ।
अस्पताल सुधार गर्न नगर प्रमुख राजन पौडेलले देखाएका चासो र चिन्ताकै कारण आज जीतपुरसिमरा अस्पतालप्रतिको बिश्वास पनि बढ्दै गएको छ । सो अस्पतालमा दैनिक २५० भन्दा बढी ओपिडी र आकस्मिक सेवाका बिरामी आउने गरेका छन् । यसअघि पहिले प्राथमिक स्वास्थ्य केन्द्र हुदा दैनिक जम्मा ५० जनाको संख्यामा बिरामी पुग्ने गरेका थिए ।
ओपिडि सेवा प्रभावकारी बन्दै
प्राथमिक स्वास्थ्य केन्द्र हुदा त्यसबेला कुनैपनि मेडिकल अफिसर थिएनन् । अहेब, हेल्थ असिस्टेन्टको भरमा चलेको प्राथमिक अस्पतालको स्तरउन्नतीका क्रममा शुरुमा ओपिडि सेवा दिन उपमहानगरपालिकाले ४ जना मेडिकल अफिसर नियुक्त गर्यो । अहिले १ जना मेडिकल सुपरिटेन्डेन्ट एमडिजिपि गरेको ९औ तहको विशेष डाक्टरसहितको सेवा अस्पतालले दिईरहेको छ ।
स्वास्थ्य महाशाखा प्रमुख भास्करले जनशक्ति बढेपछि ओपिडि सेवा प्रभावकारी बन्दै गएको बताउनुभयो । ‘सरकारी अस्पतालमा ओपिडिको पुर्जि १० रुपैयाको काटेर, विशेषज्ञ सेवा दिने वातावरण बनाएका छौ, त्यो तपाई हामी सबैको लागी खुशीको कुरा हो’ उहाले भन्नुभयो ।
अप्रेसन थिएटर खोल्ने तयारी, प्रशुती सेवा २४ घण्टे बनाईने
जीतपुरसिमरा अस्पतालको सेवालाई थप प्रभावकारी बनाउन अप्रेसन थिएटर खोल्ने तयारी भईरहेको छ । स्वास्थ्यम महाशाखा प्रमुख भास्करले शल्यक्रिया सेवालाई पनि अघि बढाउने तयारी भईरहेको बताउनुभयो । ‘हामीले अप्रेसन थिएटर नभएका कारण शल्यक्रिया सेवा शुरु गर्न सकेका छैनौ, छिट्टै सबैको कुराको व्यवस्थापन गरेर त्यो सेवा पनि शुरु गर्छौ’ उहाले भन्नुभयो ।
प्रसुती सेवालाई पनि २४ घण्टे बनाउने तयारी भईरहेको उहाले बताउनुभयो । प्रमुख भास्करले कार्तिकसम्ममा प्रसुती सेवाको सम्पुर्ण तयारी गरेर मंसिरबाट सेवा सुरु गर्ने बताउनुभयो । यसैगरी ल्याबको स्तरीयतालाई प्रभावकारी बनाउने तयारीमा पनि आफुहरु लागेको उहाले बताउनुभयो ।
आफ्नै फार्मेसी, औषधीमा ५० प्रतिशत छुट
जीतपुरसिमरा अस्पतालले अहिले आफ्नै फार्मेसी सञ्चालन गरिरहेको छ । निशुल्क ९८ प्रकारका औषधी बाहेक निजि अस्पतालबाट किन्नुपर्ने औषधी पनि फार्मेसीमा उपलब्ध गराईएको स्वास्थ्य महाशाखा प्रमुख भास्करले बताउनुभयो ।
प्रमुख भास्करले निशुल्क बाहेकका औषधी खरिदमा ५० प्रतिशत छुट दिईएको बताउनुभयो । ‘निशुल्क ९८ प्रकारका औषधी बाहेक अन्य औषधी खरिदमा ५० प्रतिशत छुटको व्यवस्था गरेका छौ, त्यसबाहेक बिमा गराउनुभएका नागरीकहरुलाई निशुल्क बाहेकका औषधीपनि प्रदान गरिन्छ’ उहाले भन्नुभयो ।
जीतपुरसिमरा अस्पतालको नया भवन बन्दै
विशेषज्ञसहित आवश्यक्ता अनुसार जनशक्ति थपिदै गएपनि पर्याप्त जनशक्ति नरहेको अस्पतालले जनाएको छ । हल जीतपुरसिमरा अस्पताल अस्थायी रुपमा जीर्ण पुरानो भवनबाट सञ्चालनमा छ । तर स्वास्थ्य सेवालाई प्रभावकारी रुपमा अघि बढाउने तयारी अनुरुप जीतपुरसिमरा उपमहानगरपालिकाले अस्पतालको नया भवन निर्माण कार्यलाई तिब्रता दिएको छ ।
२०७९ सालदेखि निर्माण सुरु भएको उक्त भवनको निर्माण कार्य अहिले तिब्र गतिमा भईरहेको छ । ठेकेदार कम्पनीले २०८१ साल असार १६ गते निर्माण सम्पन्न गरिसक्नुपर्नेछ । सम्झौतामा २४ महिनाभित्र निर्माण पूरा गर्नुपर्ने उल्लेख छ ।