पाकिस्तानलाई हराउँदै श्रीलंका पुग्यो एशिया कपको फाइनलमा

ए वान डेस्क
२९ भाद्र २०८०, शुक्रबार ०८:११

गए राति सम्पन्न पाकिस्तान विरुद्धको खेलमा दुई विकेटको जित हात पारेसँगै श्रीलंकाले एशिया कपको फाइनलमा स्थान पक्का गरेको छ।

श्रीलंका एशिया कपको गत संस्करणको विजेता पनि हो। अब श्रीलंकाले उपाधिका लागि भारतसँग प्रतिस्पर्धा गर्नेछ।

पाकिस्तान र श्रीलंकाबीचको खेल वर्षाका कारण ओभर घटाएर खेलिएको थियो। ४२ ओभरको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले सात विकेटको क्षतिमा २५२ रन बनाएको थियो।

पाकिस्तानका लागि मोहम्मद रिजवानले ८६ रनको पारी खेलेका थिए। यस्तै, अब्दुल्लाह शफिकले ५२ रन बनाए भने इफ्तिखार अहमदले ४७ रन जोडे। कप्तान बाबर आजमले राम्रो शुरूआत गरे पनि २९ रनमा खेलिरहँदा स्टम्पिङको शिकार भए। यस बाहेक मोहम्मद नवाजले १२ रन बनाए भने अरू ब्याटरले दोहोरो अङ्कमा रन बनाउन सकेनन्।

बलिङतर्फ श्रीलंकाका मथीशा पथिरानाले तीन विकेट लिए। प्रमोद मदुशानले दुई विकेट लिए। दुनिथ वेल्लालगे र महीश थिकसानाले समान एक-एक विकेट लिए।

जवाफी ब्याटिङमा उत्रिएको श्रीलंकाले अन्तिम ओभरको अन्तिम बलमा दुई रन बनाउँदै पाकिस्तानमाथि जित दर्ता गर्‍यो। श्रीलंकाका लागि कुशल मेन्डिसले ९१ रनको पारी खेले। उनी ‘प्लेयर अफ द म्याच’ पनि भए।

यस्तै, चरिथ असालंका र सदीरा समराविक्रमाले क्रमशः ४९ र ४८ रन बनाए। पथुम निसंकाले २९ र कुशल परेराले १७ रन बनाए। अन्यले दोहोरो अङ्का रन बनाएनन्।

बलिङतर्फ पाकिस्तानका इफ्तिखार अहमदले तीन विकेट लिए। शाहीनशाह अफ्रिदीले दुई तथा शादाब खानले एक विकेट लिए।

अब एशिया कपको फाइनल खेल आइतबार दिउँसो ३:१५ बाट शुरू हुनेछ।

आज भारत र बाङ्लादेश
यसबीच आज भारत र बाङ्लादेशले ‘सुपर फोर’को अन्तिम खेल खेल्दै छन्। बाङ्लादेश यसअघि नै प्रतियोगिताबाट बाहिरिइसकेको र भारतले यसअघि नै फाइनलमा आफ्नो स्थान बनाइसकेको हुनाले आजको खेल पूर्णतः औपचारिकतामा सीमित हुनेछ।

यी दुई टोलीबीचको खेल आज दिउँसो ३:१५ बाट शुरू हुनेछ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*