जीतपुरसिमरा १६ मा वडा अध्यक्ष गोल्डकप शुरु, मित्र युवा क्लबको विजयी शुरुवात
जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १६ मा आजदेखि प्रथम वडा अध्यक्ष गोल्डकप फुटबल प्रतियोगिता २०८० शुरु भएको छ । मित्र युवा क्लबको आयोजनामा डकाहा पैनिटोल खेल मैदानमा आजदेखि प्रतियोगिता शुरु भएको हो ।
प्रतियोगिताको एक कार्यक्रमकाबिच बारा क्षेत्र नम्बर ३ की प्रतिनिधिसभा सदस्य ज्वाला शाहले उद्घाटन गर्नुभएको थियो । प्रतियोगिताको उद्घाटन गर्दै शाह खेल क्षेत्रको विकास गर्न आफु लागिपर्ने बताउनुभयो । उहाले खेलकुदको विकास अपरिहार्य रहेको बताउनुभयो । ग्रामिण क्षेत्रमा हुने प्रतियोगितामा सबै स्तरबाट सहयोग हुनुपर्ने भन्दै उहाले राज्यले खेलकुदको क्षेत्रमा लगानी बढाउनुपर्ने धारण राख्नुभयो ।
जितपुरसिमरा उपमहानगरपालिकाका उपप्रमुख भोला प्रसाद अधिकारीले उपमहानगरभित्र खेलकुदको विकासमा आफुहरु गंभिर भएर लाग्ने बताउनुभयो । कार्यक्रममा प्रदेशसभा सदस्य देवनारायण प्रसाद चौधरी, जितपुरसिमरा उपमहानगरपालिका वडा नं.१६ का वडा अध्यक्ष हरिदेव खरेल, १८ का अध्यक्ष चुतरवाबु वाग्ले, वडा नं. १६ का पूर्व वडा अध्यक्ष केदारनाथ बजगाँई, डुमरवाना बहुमुखी क्याम्पसका अध्यक्ष अनिल कुमार मैनाली, शसस्त्र प्रहरी बल पिलुवाका शसस्त्र प्रहरी निरिक्षक उत्तर वाईवा, पत्रकार गणेशराज रिजाल लगायतको उपस्थिति रहेको थियो ।
उद्घाटन खेलमा मित्र युवा क्लब विजयी
प्रतियोगिता अन्र्तगत आज भएको उद्घाटन खेलमा कलैया फुटबल क्लबलाई पराजित गर्दै मित्र युवा क्लबले विजयी शुरुवात गरेको छ । प्रतियोगितामा कलैयालाई ८–० गोल अन्तरले पराजित गर्दै मित्र युवा क्लबले विजयी शुरुवात गरेको हो । मित्र युवा क्लबको जितमा जर्सी नं. १४ का कृपाकान्त चौधरी उत्कृष्ट ६ गोल गरेका थिए ।
यस्तै जर्सी नं. १० का अन्जन बछार र जर्सी नं. १५ का अभिस्कार चौधरीले समान एक एक गोल गरे । यता कलैया फुटबल क्लब राम्रो प्रदर्शन गर्न नसक्दा प्रतियोगिताबाटै बाहिरियो । प्रतियोगिता अन्र्तगत भोलि मौवादेवी यूवा क्लब बडहर्वा र फ्रन्स यूवा क्लब बकुलियाका बिच खेल हुने आयोजकले जनाएको छ । दुई टिमबिचको खेल दिउसो २ बजेदेखि शुरु हुनेछ ।















