जीतपुरसिमरामा राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सुरु, ३६ विद्यालय सहभागी

ए वान डेस्क
१० माघ २०८०, बुधबार १९:३२

जीतपुरसिमरा उपमहानगरपालिकामा नगर स्तरीय तेस्रो राष्ट्रपति रनिङशिल्ड खेलकुद प्रतियोगिता मंगलबारदेखि सुरु भएको छ । जीतपुरसिमरा १४ स्थित जनता माध्यमिक विद्यालयमा आयोजित एक समारोहकाबीच बारा क्षेत्र नं. ३ की प्रतिनिधिसभा सदस्य एव्म पूर्वमन्त्री ज्वालाकुमारी साहले प्रतियोगिताको उद्घाटन गरेकी हुन् ।

जीतपुरसिमरा उपमहानगरपालिकाको आयोजना र जनता माध्यमिक विद्यालयको व्यवस्थापनमा संचालन हुने प्रतियोगितामा ३६ वटा सामुदायिक तथा निजी विद्यालयका पाँच सय ७६ विद्यार्थी सहभागी हुँदैछन् । माघ १३ गतेसम्म आयोजना हुने प्रतियोगितामा कबड्डी, भलिबल, एथलेटिक्स, तेक्वान्दो, कराँते, महिला फूटबल र पुरुष क्रिकेट खेल हुनेछन् ।

प्रतियोगिता आयोजनाका लागि विभिन्न उपसमिति र प्राविधिक समिति निर्माण गरिएको छ । सोही समितिको सहजीकरणमा प्रतियोगिताका खेलहरु संचालन गरिनेछन् ।

जीतपुरसिमरा नगर प्रमुख राजन पौडेलको अध्यक्षतामा सम्पन्न उद्घाटन समारोहमा संविधानसभा सदस्य मधु शाही, उपमहानगरपालिकाका नगर उपप्रमुख भोलाप्रसाद अधिकारी, जीतपुरसिमरा १४ की वडाध्यक्ष चयन गुरुङ, सामुदायिक विद्यालयका तर्फबाट शंकर आचार्य, संस्थागत विद्यालयको तर्फबाट रामप्रसाद अधिकारीले मन्तव्य राखेका थिए । कार्यक्रमको सहजीकरण विद्यालयका प्रध्यानाध्यापक राजु अधिकारीले गरेका थिए ।

उद्घाटन समारोहमा विभिन्न राजनीतिक दलका प्रतिनिधि, सामुदायिक तथा निजी विद्यालयका प्रध्यानाध्यापक, जनप्रतिनिधि, सामाजिक संघसंस्थाका प्रतिनिधि, विभिन्न विद्यालयका खेलाडी तथा विद्यार्थीको सहभागिता रहेको थियो । कार्यक्रममा विभिन्न विद्यालयका विद्यार्थीले सांस्कृतिक नृत्य प्रस्तुत गर्नुका साथै आफ्नो कलाकौशल प्रदर्शन गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*