भूकम्पअपडेट : चीनमा भूकम्पबाट मृत्यु हुने संख्या ९५ पुग्यो
मंगलबार बिहान चीनमा गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या ९५ पुगेको छ । चिनियाँ समाचार संस्था सिन्ह्वाका अनुसार भूकम्पबाट कम्तीमा १३० जना घाइते भएका हुन् ।
भूकम्पबाट नेपालमा भने हालसम्म कुनै मानवीय क्षति नभएको राष्ट्रिय आपत्कालीन कार्यसञ्चालन केन्द्रले जनाएको छ ।
केन्द्रले एक विज्ञप्तिमार्फत सङ्खुवासभा, भोजपुर, तेह्रथुम, ताप्लेजुङ, धनकुटा, खोटाङ, ओखलढुङ्गा, सोलुखुम्बु र पाँचथर जिल्लामा भूकम्पको कडा धक्का महसुस भएको जनाएको छ । यसबाहेक बारा,पर्सा, रौतहट,इलाम, झापा, सुनसरी, मोरङ र उदयपुरमा सामान्य धक्का महसुस भएको केन्द्रले जनाएको छ ।
गृह मन्त्रालयका अनुसार भूकम्पका कारण सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका ४ स्थित प्रहरी चौकी भवन चर्किएको छ । त्यस्तै रामेछापमा एउटा गोठमा भूकम्पले क्षति पुर्याएको छ । ओखलढुंगा र सोलुखुम्बुमा मानिस नबस्ने केही घरमा क्षति पुगेको मन्त्रालयले जानकारी दिएको छ । यता काठमाडौँको स्युचाटारस्थित घरको छतबाट हामफाल्दा एक जना घाइते भएका छन् । उनको अस्पतालमा उपचार जारी रहेको छ ।















