मुस्लिम समुदायको रमजान पर्व आजदेखि सुरु
इस्लाम धर्मावलम्बीहरुको महान पर्व रमजान आज (आइतबार)देखि सुरु भएको छ। यो पर्वमा एक महिनाभर मुस्लिम समुदायले बिहान सूर्योदय हुनुअघिदेखि सूर्यास्त नभएसम्म पानीसमेत खाँदैनन्। बिहान लगभग ४ बजेबाट साँझ ६ बजेसम्म निराहार बस्नुलाई रोजा भनिन्छ।
रोजाको समय दैनिक सूर्य उदाउने र अस्ताउने समयसँगै समय तालिका पनि परिवर्तन भइरहन्छ।
रमजान उर्दू क्यालेण्डर अनुसार हिजरी सम्वत् को नवौँ महिना हो । रमजान महिनामा नै मुसलमानको सबै भन्दा ठूलो ग्रन्थ कुरान अवतरण भएको विश्वास गरिन्छ। मुसलमान समुदायमा यो महिनामा अल्लाहको कृतज्ञता प्राप्त हुने विश्वास रहिआएको छ।
दान दिनु गरीब र दीनदुःखीलाई सेवा गर्नु, जकात निकाल्नु यो महिनाको ठूलो विशेषता हो। रमजानान व्रत बस्न शनिबार साँझ चन्द्रमा हेर्न आकाशतिर दृष्यावलोकन गर्ने र चन्द्रमा हेरेर औधी रमाउने प्रचलन छ।
व्रतका बेला मुस्लिम समुदायले मस्जिदमा गइ कुरानको केही भाग नमाजको रुपमा पढ्ने गर्छन् । एक महिनापछि व्रत समापनका अवसरमा इदुल फित्र मनाइन्छ। त्याग, तपस्या र बलिदान सबै जोडिने यो पर्वमा मुसलमान रोजा बस्नुलाई गर्व मान्दछन् । नाबालक, बिरामी, घातक रोग लागेका र गर्भवती महिलालाई रोजा बस्न अनिवार्य छैन।
मुस्लिम समुदायका लागि रमजान सबैभन्दा उत्तम र विशेष महिना मानिन्छ । रमजान दान, प्रतिदान र क्षमादान माग्ने महिना भएकोले यसलाई विशेष महिना मानिएको हो ।
























