जीतपुरमा ५१ कुण्डीय गायत्री महायज्ञ सम्पन्न
बाराको जीतपुरमा ५१ कुण्डीय गायत्री महायज्ञ हवन एवं प्रज्ञा पुराण कथा सम्पन्न भएको छ । जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ जीतपुर केराढोकाको बंगाली बाबा युग धर्म आश्रममा आयोजित महायज्ञ सम्पन्न भएको हो ।
फागुन १५ गते बृहत् कलश यात्रा निकालेर सुरू गरिएको महायज्ञ फागुन १८ गते सम्पन्न भएको हो । मुल आयोजक समितिका अध्यक्ष संतोष कुशवाहाको अध्यक्षतामा सम्पन्न समापन कार्यक्रमको प्रमुख अतिथि संघिय सांसद किसान श्रेष्ठ रहनु भएको थियो ।
शान्तिकुञ्ज हरिद्वार तत्वधानका गुरूहरूद्वारा गायत्री निमय अनुसार यज्ञ हवन, प्रवचन, प्रज्ञा पुराण गरि महायज्ञको समापन गरिएको थियो । महायज्ञ सफल पार्न सहयोग गर्ने सहयोगी दाताहरू, यज्ञमा जजमानको रूपमा पुजा गर्ने भक्तहरू, समिति र पत्रकारहरूलाई समेत आयोजकले सम्मान गरेको थियो ।
कार्यक्रममा मधेस प्रदेशका प्रदेश सभा सदस्य देव नारायण चौधरी, जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघका संस्थापक अध्यक्ष घनश्याम गिरि लगायत विभिन्न संघ संस्थाका प्रमुख एवं प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।
५१ कुण्डीय गायत्री महायज्ञ हवन एवं प्रज्ञा पुराण कथामा ३ दिन सम्म ५१ जोडी दम्पतीहरू मुख्य जजमानको रूपमा रहि यज्ञ हवनमा सहभागी भएका थिए ।
५१ जोडी दम्पतीहरू यज्ञमा दिनहु बिहान र साझ पुजाआजा गरेर प्रज्ञा पुराण कठामा सहभागी भएर आध्यात्मिक ज्ञानसहित व्यवहारिक ज्ञान सिक्ने गरेका थिए ।
यज्ञमा दिनहु प्रसादको रूपमा निशुल्क भण्डारा (खाना) को समेत व्यवस्था गरिएको थियो । सफलताका साथ सम्पन्न भएको गायत्री महायज्ञ हवनमा ५१ वटा हवन कुण्ड निर्माण गरि एकै साथ ५१ कु्ण्डमा हवन गरिएको थियो । पुजामा सहभागी ५१ जोडीले ५१ हवन कुण्डमा एकैसाथ हवन गरेका थिए ।
५१ जोडी (मुख्य जजमान) बाहेक अन्य हजारो भक्तले पनि हवनमा सहभागी भएर हवन गरेका थिए । महायज्ञको समापन कार्यक्रममा पुजाका जजमान ओम प्रकास गुप्ताले २ वर्ष भित्रमा नगरमा १०८ कु्ण्डीय गायत्री महायज्ञ गराउन प्रतिबध्दता गरेका थिए ।
























