वीरगन्जको भकुवा नाकाबाट ८१ हजार पिस बढी लागूऔषध बरामद

ए वान डेस्क
७ जेष्ठ २०८२, मंगलवार १५:५०

वीरगन्जबाट सशस्त्र प्रहरीले ठूलो परिमाणमा प्रतिबन्धित लागूऔषध बरामद गरेको छ। भारतबाट तस्करी गरेर ल्याइँदै ८१ हजार ४९० पिस ट्रामाडोल हाइड्रोक्लोराइड ट्याब्लेट वीरगन्ज महानगरपालिका-२ छपकैयाको भकुवा नकाबाट सशस्त्र प्रहरीले बरामद गरेको हो। बरामद गरिएको ट्याब्लेटको मूल्य भारतमा ७ लाख रुपैयाँभन्दा बढी रहेको बताइएको छ ।

भारतको रक्सौलबाट छपकैयाको भकुवा नाका हुँदै ठूलो परिमाणमा लागूऔषध नेपाल भित्रिँदै छ भन्ने सूचना मंगलबार बिहानै सशस्त्र प्रहरीलाई प्राप्त भएको भएको थियो। उक्त सूचनाका आधारमा सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हेड क्वार्टर पर्साबाट सशस्त्र प्रहरी नायब उपरीक्षक देवेन्द्र बहादुर सिंहको नेतृत्वमा सशस्त्र प्रहरीको टोली भकुवा नाकामा पुगेको थियो ।

भकुवा नाकास्थित सिर्सिया नदी तरेर दुईजना तस्करहरू टाउकोमा लागूऔषधले भरिएको कार्टुन बोकर छपकैयातर्फ आउँदै गर्दा सशस्त्र प्रहरीलाई देखेपछि उनीहरू दुवै जना लागूऔषध सहितको कार्टुन फ्याँकेर फरार भएको सशस्त्र प्रहरी नायब उपरीक्षक सिंहले बताए।

कार्टुन खोलेर हेर्दा त्यसभित्र लागूऔषध ट्रामाडोल हाइड्रोक्लोराइड ट्याब्लेट ८१ हजार ४९० पिस बरामद भएको उनले बताए। बरामद उक्त लागूऔषध आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय पर्सामा बुझाइएको र तस्करहरूको खोजी कार्य भइरहेको सशस्त्र प्रहरी नायब उपरीक्षक सिंहले जानकारी दिए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*