विराटनगरबाट ४५ लाखसहित एक जना पक्राउ
प्रहरीले भारतीय गाडीमा रहेको ४५ लाख रुपैयाँसहित एक जनालाई पक्राउ गरेको छ । मंगलबार बिहान भारतको जोगबनीबाट विराटनगरतर्फ आउँदै गरेको भारत अररिया फारबिसगञ्जका नारायण साहलाई विराटनगर ५ बाट पक्राउ गरिएको हो ।
भारतीय बीआर ११ एए६२६५ नम्बरको कारलाई चेक गर्ने क्रममा प्रहरीले गाडीबाट ४५ लाख नगद बरामद गरेको हो । ड्राइभरको सिटमुनि हालेर जोगवनीबाट नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा कारका चालक साहसहित कारलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक अरुणकुमार बिसीले जानकारी दिनुभयो ।
चालक साहसँग रकमको सन्दर्भमा सोधपुछ भइरहेको प्रहरीले जनाएको छ । बरामद भएको रकममा एक हजार दरका ३ हजार ४ सय थानको ३४ लाख, पाँच सय दरको दुई हजार एक सय थानको १० लाख ५० हजार र एक सय दरका पाँच सय थानको ५० हजार गरी ४५ लाख रुपैयाँ बरामद भएको प्रहरी उपरीक्षक बिसीले जानकारी दिनुभयो ।
पहिले पनि यसैगरी बिभिन्न रकमको कारोवार हुँदा प्रहरीले हुण्डीको कारोवारमा संलग्नहरुलाई पक्राउ गर्दै आएकोमा यो पनि हुण्डिको कारोवारी भएको हुनसक्ने प्रहरीको अनुमान छ । हुण्डीका कारोवारीहरु पछिल्लो समय पूर्वी नेपालमा बढ्दै गएको हुनसक्ने प्रहरीको भनाई छ ।
यति ठूलो परिमाणमा बरामद भएको रकमको बारेमा कहाँ र किन लग्दै गरेको भन्ने समेत प्रहरीले जनाएको छैन । अनुसन्धानमै रहेकोले अहिले नै यसै भन्न नसकिने उपरीक्षक बिसीको भनाई छ ।
यसरी पक्राउ परेको रकमको सन्दर्भमा अनुसन्धानपछि सम्पत्ति शुद्धिकरण वा राजश्व अनुसन्धानमा मुद्दा चलाउने भन्ने अनुसन्धानबाट नै खुल्ने प्रहरीको भनाई छ । यसको थप अनुसन्धानको लागि काठमाडौं पठाउने प्रहरीको तयारी छ ।
उज्यालो अनलाईनबाट















