कैलाली कारागार झडप : मृतकका परिवारले बुझेनन् शव
कैलाली कारागारमा भएको हिंसात्मक आक्रमणमा मारिएका धनगढी उपमहानगरपालिका–४ का ३७ वर्षीय भरत चौधरीको शव चार दिनदेखि सेती प्रादेशिक अस्पतालमा छ ।
लागुऔषध मुद्दामा ६ महिनादेखि कैद भुक्तान गरिरहेका चौधरीको शुक्रबार राति कारागारभित्रै कैदीबन्दी समूहबीच झडपमा मृत्यु भएको थियो ।
कारागारको पुरुष ‘ए’ ब्लकमा रहेका कैदीबन्दीको समूहले भित्ता फुटाएर ‘बी’ ब्लकमा रहेका चौधरीसहितका ४९ जना कैदीबन्दीमाथि सांघातिक आक्रमण गरेका थिए ।
राति सेती प्रादेशिक अस्पताल पुर्याइएका चौधरीलाई चिकित्सकले मृत घोषणा गरेका थिए । मृतक चौधरीको शव परिवारले बुझन् मानेका छैनन् ।
मृतकका परिवारले हत्यामा संलग्न कैदीबन्दीको पहिचान गरी कारबाहीको दायरामा ल्याउनुपर्ने, उनकी १५ वर्षीया छोरीलाई सरकारले नि:शुल्क शिक्षाको व्यवस्था गर्नुपर्ने माग गरेका छन् ।
मृतकका भाइ विजय चौधरीले दाजुको मृत्युपछि टुहुरो बनेकी छोरीको नि:शुुल्क शिक्षा दिनुपर्ने र हत्यामा संलग्नको पहिचान गरी शीघ्र कारबाहीको दायरामा ल्याउनुपर्ने माग गरे ।
प्रहरीले पनि मृतकका आफन्तले दिने जाहेरीका आधारमा अनुसन्धान अघि बढाउने जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक (डीएसपी) राजकुमार सिंहले किटानी जाहेरीका आधारमा कारागारमा भएको घटनाबारे अनुसन्धान गर्ने बताए ।
घटनाको छानबिनका लागि सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशीको नेतृत्वमा समेत पाँच सदस्यीय समिति गठन गरिएको छ ।
कारागारभित्र आफन्त वर्चश्व जमाउने उद्देश्यले कैदीबन्दीका दुई समूहबीचको मनमुटावले शुक्रबार राति भएको झगडाले हिंसात्मक रुप लिएको थियो ।
‘ए’ ब्लकका कैदीबन्दीको आक्रमणबाट ‘बी’ ब्लकमा रहेका भरत चौधरीको मृत्यु हुन पुग्यो भने अन्य ४९ जना घाइते छन् । उनीहरू मध्ये दुई जनाको अवस्था गम्भीर छ ।
उनीहरुलाई थप उपचारका लागि काठमाडौं लगिएको छ भने अन्यको सेती प्रादेशिक अस्पताल अन्तर्गतको कोभिड अस्पताल धनगढीमै उपचार भइरहेको छ ।
घटनापछि कैदीबन्दीहरुले कैलाली कारागारको बन्दीगृह पूर्ण रुपमा नियन्त्रणमा लिएका थिए । करीब ४० घण्टापछि स्थानीय प्रशासनले आइतबार साँझ पाँच बजे मात्र बन्दीगृह आफ्नो नियन्त्रणमा लिएको थियो ।
























