श्रीपुरमा नवनिर्मित ११ कोठे बजार सेड भवन उद्घाटन
बाराको कलैया उपमहानगरपालिका–१६, श्रीपुरमा नवनिर्मित ११ कोठे पक्की बजार सेड भवनको उद्घाटन प्रतिनिधिसभा सदस्य तथा पूर्व कृषीमन्त्री ज्वालाकुमारी साहले गरेकी छिन् ।
रिलायन्स सुगर मिल नजिकैको चिनिमिल विद्यागर श्रीपुर कृषि बजार क्षेत्रमा बनेको यो भवन कृषि मन्त्रालयको ८० लाख रुपैयाँको बजेटमा निर्माण गरिएको हो ।
उद्घाटन कार्यक्रममा बोल्दै पूर्वमन्त्री साहले आफू कृषि मन्त्रालयमा १२३ दिन मात्र मन्त्री रहँदा किसानका उखु अनुदान, दूध बाँकी रकम भुक्तानी, सुन्तलालाई राष्ट्रिय फल घोषणा तथा मल आपूर्तिका नियमावली संशोधनजस्ता महत्वपूर्ण कार्य सम्पन्न गर्न सफल भएको बताइन् । साथै, आफ्नो कार्यकालमा ५० भन्दा बढी स्थानमा डिप बोरिङ स्थापना र पाँच करोड रुपैयाँभन्दा बढी लागतमा विभिन्न ठाउँमा बजार सेड निर्माण भएको उल्लेख गर्दै कृषिलाई बजेटको प्राथमिकतामा राख्न सरकारसँग आग्रह गरिन् ।
भवन निर्माण समितिका अध्यक्ष गोरख यादवका अनुसार साताको दुई दिन मात्रै सञ्चालन हुँदै आएको स्थानीय कृषि बजारलाई यो भवनले व्यवस्थित बनाउन मद्दत गर्नेछ ।
श्रीपुर, झिट्कैया, विद्यानगरलगायत आधा दर्जन गाउँका किसान र उपभोक्ता प्रत्यक्ष लाभान्वित हुने अपेक्षा गरिएको छ।
























