आक्रमणकारी पक्राउ नपरेपछि पत्रकार सडकमा

ए वान डेस्क
१ भाद्र २०८२, आईतवार १५:२५

धनुषामा पत्रकारमाथि भएको आक्रमणका दोषी पक्राउ नगरेको भन्दै पत्रकारहरूले आइतबार जिल्ला प्रशासन कार्यालय अगाडि धर्ना दिएका छन् ।

नेपाल पत्रकार महासंघ मधेस प्रदेश समिति र जिल्ला शाखा धनुषाको अगुवाइमा भएको धर्नामा सहभागी पत्रकारहरूले दोषीमाथि तत्काल कारबाही गर्न माग गरेका थिए। शान्तिपूर्ण धर्नामा पत्रकारहरूले नारा लगाउँदै आफ्नो आक्रोश व्यक्त गरेका थिए ।

नेपाल पत्रकार महासंघ मधेस प्रदेशले केन्द्रीय गुठी संस्थानसँग सम्झौता गरेर चार कठ्ठा जग्गा लिजमा लिएको थियो। तर सो जग्गा आफ्नो क्षेत्राधिकारभित्र पर्ने भन्दै नेपाल बार एशोसिएशन जनकपुरका केही वकिलले विवाद उत्पन्न गरेका थिए
। विवादकाबीच गत साउन २७ गते पत्रकारमाथि आक्रमण भएको थियो ।

आक्रमणमा महासंघ मधेश प्रदेशका अध्यक्ष श्यामप्रसाद बन्जारा, उपाध्यक्ष ज्योति झा, महासचिव शैलेन्द्र महतो (क्रान्ति), पत्रकार दिवाकर राय, अनिलकुमार निराला र विनिता यादव घाइते भएका थिए। घटनापछि महासंघले किटानी जाहेरी दिए पनि प्रशासनले आक्रमण गर्ने वकिलहरुलाई पक्राउ गरेको छैन ।

पत्रकार महासंघले आइतबारको धर्नालाई पहिलो चरणको दबाबमूलक कार्यक्रमका रूपमा लिएको छ। दोषी पक्राउ नगरिए थप चरणबद्ध आन्दोलन गर्ने तयारी भएको पत्रकार महासंघ मधेस प्रदेशका अध्यक्ष श्याम बञ्जाराले जानकारी दिएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*