हैजा नियन्त्रणसँगै वीरगञ्जमा तोडफोड /आगजनी, स्वच्छ वीरगञ्ज बनाउने अभियान निरन्तर जारी

ए वान डेस्क
२६ भाद्र २०८२, बिहीबार १५:४२

खानेपानीको अभावपछि फैलिएको हैजाको महामारीलाई वीरगञ्ज महानगरपालिकाले सम्पूर्ण संयन्त्र परिचालन गरी नियन्त्रण गर्न सफल भएको छ। स्वास्थ्यकर्मी, सरसफाइ कर्मचारी, स्वयंसेवक र सुरक्षाकर्मीहरूको निरन्तर प्रयासका कारण हैजा छोटो समयमै नियन्त्रणमा आएको हो।

सुशासनलाई मुख्य मुद्दा बनाएर सुरु भएको युवापुस्ताको आन्दोलनमा केही आपराधिक समूहले घुसपैठ गर्दै सार्वजनिक तथा निजी सम्पत्तिमा आगजनी गरेका छन् ।

नगरवासीको साझा सम्पत्तिहरू जलाइएका छन्, कार्यालयहरू तोडफोड भएका छन्, सडकमा रहेका संरचनाहरू खरानीमा परिणत भएका छन्। वीरगञ्ज महानगर प्रमुख राजेशमान सिंहको निजी घर समेत जलेर पूर्णरूपमा ध्वस्त भएको छ।

यस्तो अवस्थामा पनि नगर प्रमुख सिंहले आफ्नो घर पुनर्निर्माणभन्दा बढी नगरलाई प्राथमिकता दिएका छन् । उनले भनेकाछन्, “मेरो घर त फेरि बनाउन सकिन्छ, तर पुरै नगर नै ध्वस्त भएको अवस्थामा त्यो पुनर्निर्माण गर्नु हाम्रो पहिलो कर्तव्य हो ।”

प्रमुख सिंहले सम्पूर्ण संयन्त्रलाई सफाइ र व्यवस्थापनमा निरन्तर लागिरहन निर्देशन दिएका छन् ।

महानगरका अनुसार हैजा नियन्त्रण भइसके पनि रोग पुनः फैलन सक्ने जोखिम अझै विद्यमान छ।

लामखुट्टे–जन्य रोग रोकथामका लागि धुवाँ गर्ने, नालाको सरसफाइ गर्ने, दूषित खानेपानीको स्रोत बन्द गर्ने तथा संक्रमित क्षेत्र वरपर थप सतर्कता अपनाउने काम निरन्तर भइरहेको छ।

यस्तै आन्दोलनको क्रममा जलेर खरानी बनेका संरचनाको अवशेष हटाउने, तोडफोड भएका सार्वजनिक स्थललाई पुनः व्यवस्थित गर्ने, असरल्ल अवस्थामा रहेका सडक–गल्लीलाई स्वच्छ राख्ने अभियानलाई महानगरले द्रुत गतिमा अघि बढाएको छ। कर्फ्यु जारी रहेकै अवस्थामा पनि सरसफाइ कर्मचारीहरूलाई ड्युटीमा खटाइएको छ।

नगर प्रमुख सिंहले सम्पूर्ण नगरको संरचना र सुन्दरतालाई पुनर्जीवित गर्ने संकल्प लिएको भन्दै कर्मचारीहरूलाई प्रेरित गरिरहनुभएको महानगरले जनाएको छ।

यस्तो प्रतिकूल परिस्थिति, साधन–स्रोतको अभाव र व्यक्तिगत क्षतिको पीडा हुँदाहुँदै पनि वीरगञ्ज महानगरपालिका अहिले पुनर्निर्माण र सरसफाइ अभियानमा दृढतापूर्वक अघि बढिरहेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*