तोडफोड र आगलागीमा लुटिएका सामग्री बुझाइदिन उपमहानगरपालिकाको आह्वान

जितपुरसिमरा उपमहानगरपालिकाले हालै भएको आगलागी र तोडफोडका क्रममा लुटपाट र चोरी भएका विभिन्न सामग्री बुझाइदिन सार्वजनिक आह्वान गरेको छ।
मिति २०८२ भदौ २४ गते भएको घटनामा उपमहानगरपालिका मातहतका वडा कार्यालय तथा स्वास्थ्य संस्था र सेवा केन्द्रहरूमा रहेका गाडी, मोटरसाइकल, कम्प्युटर, ल्यापटप, फोटोकपी मेसिन, प्रिन्टर, स्क्यान, सिसिटिभी,साइकल, टेबुल, कुर्सी, दराज, भाँडाकुँडा तथा महत्वपूर्ण कागजातहरूसहित कर्मचारीका निजी सवारी साधनसमेत लुटपाट भएका थिए।
उपमहानगरपालिकाले उक्त सामग्री कसैको साथमा रहेको, देखिएको वा भेटिएको खण्डमा तत्काल नजिकको पालिका, वडा कार्यालय, स्वास्थ्य संस्था वा सुरक्षाकर्मीलाई बुझाई दिन वा जानकारी गराउन अनुरोध गरेको छ।
साथै, सामग्री सम्बन्धी जानकारी दिने व्यक्तिको नाम गोप्य राखिने उपमहानगरपालिकाले जनाएको छ।
जानकारी वा बुझाउनका लागि प्रशासकीय अधिकृत (आठौं) : रमेश सुवेदी — ९८४६२०३०९२, प्रशासकीय अधिकृत (आठौं) : बालाराम खड्का — ९८४८०४१४१२, अधिकृत (छैटौं) : उमाकान्त पौडेल — ९८४५४३०८१८, न.प्र.स.नि. : बिज्ञान कुमार लामा — ९८२५२०५४८६ लाई सम्पर्क गर्न सकिनेछ।
उपमहानगरपालिकाले लुटिएका सामग्री पुनःप्राप्ति अभियानमा सहकार्य गर्न सम्पूर्ण नागरिकलाई अनुरोध गरेको छ।