घण्टीमाई सहकारीको १३औं वार्षिक साधारण सभा सम्पन्न
जितपुरसिमरा उपमहानगरपालिका–४, औराहास्थित घण्टीमाई बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १३औं वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ।
संस्थामा हाल १ हजार ८ सय ३० जना शेयर सदस्य र ९५ वटा लघुवित्त समूह रहेका छन्।
हालसम्म संस्थाको शेयर पूँजी रु. २ करोड ११ लाख ७३ हजार ६ सय पुगेको छ भने आर्थिक वर्ष २०८१/०८२ मा करिब रु. १८ करोड २२ लाख बराबरको कारोबार भएको संस्थाले जनाएको छ।
कार्यक्रममा संस्थाकी अध्यक्ष कोपिला सिमखडाले आर्थिक वर्ष २०८१/०८२ मा संस्थाले अपेक्षित मुनाफा हासिल गर्न नसकेको जानकारी गराउनुभयो। उहाँले आफ्नो कार्यकालमा भएका हरेक गतिविधिको जवाफ दिन सधैं तयार रहेको पनि बताउनुभयो। साथै, सहकारी क्षेत्रको विश्वसनीयता जोगाउन सदस्यहरू एकजुट भएर अघि बढ्नुपर्नेमा जोड दिनुभयो।
कार्यक्रमको उद्घाटन बारा जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष सतेन्द्र ठाकुरले गर्नुभएको थियो।
उद्घाटनपछि सम्बोधन गर्दै उहाँले १३ वर्षमा १८ करोड बराबरको सेयर पूँजी संकलन गर्न सफल हुनु संस्थाको उल्लेखनीय उपलब्धि भएको बताउनुभयो। अध्यक्ष ठाकुरले कानुनी व्यवस्थाको पूर्ण पालना गर्दै सहकारीको सिद्धान्त र नियमन अनुसार संस्था सञ्चालनमा रहेको उल्लेख गर्नुभयो।
साधारण सभामा जेष्ठ सदस्य धर्मदेवी दहाल र हिमबहादुर बोहोरालाई दोसल्ला ओढाई सम्मानपत्र र पोष्टिक आहार प्रदान गरिएको थियो। साथै, उत्कृष्ट समूह, उत्कृष्ट बचतकर्ता, उत्कृष्ट ऋणी, उत्कृष्ट कर्मचारी र २०८१ सालमा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीहरूलाई पुरस्कार प्रदान गरिएको थियो।
यसै अवसरमा यस वर्षको ‘घण्टीमाई सहकारी पत्रकारिता पुरस्कार’ कान्तिपुर टेलिभिजनका संवाददाता उपेन्द्र ठाकुरलाई प्रदान गरिएको हो।
कार्यक्रमको सञ्चालन संस्थाका सचिव त्रिलोक विक्रम ठकुरीले गर्नुभएको थियो।















