राष्ट्रिय लिग : पहिलो खेलमा नव जनजागृति युवा क्लब सिमरा पराजित
काठमाडौंमा जारी राष्ट्रिय लिग फुटबलमा आफ्नो पहिलो खेल खेलेको सिमराको नव जनजागृति युवा क्लब पराजित भएको छ । एन्फा कम्प्लेक्समा शनिबार दिउँसो भएको खेलमा नव जनजागृति चित्लाङ एफसीसंग २–१ ले पराजित भएको हो ।
चित्लाङका लागि म्याथ्यु बाबाटुन्डे र सोलोमोन इलेसान्मी एक–एक गोल गरे । नव जागृतिका लागि उदित नारायण चौधरीले एक गोल गरे ।
चित्लाङले खेलको २८औं मिनेटमा बाबाटुन्डेको गोलबाट अग्रता लिएको थियो । त्यसको केही मिनेटमै जनजागृतिले खेल बराबरीमा ल्यायो । नव जनजागृतिका लागि ३६औं मिनेटमा उदित नारायणले बराबरी गोल गरेका थिए ।
खेलको ६२औं मिनेटमा चित्लाङका लागि सोलोमोनले गोल गर्दै पुनः टिमलाई अग्रता दिलाए । उत्कृष्ट खेल पस्किएपनि फिनिसिङमा चुक्दा नव जनजागृति २–१ मा रोकिदै हार स्वीकार गर्न बाध्य भयो ।
नव जनजागृतिले अब माघ ५ गते लालिगुँरास एशोसिएसन पोखरासंग खेल्नेछ ।















