बारा ३ मा बलियो बन्दै उज्यालो नेपाल, रास्वपाका उपसभापति नै उज्यालो पार्टीमा प्रवेश
बारा क्षेत्र नं ३ का राष्ट्रिय स्वतन्त्र पार्टीका क्षेत्रीय उपसभापति रोशन कुमार अधिकारी उज्यालो नेपाल पार्टीमा प्रवेश गरेका छन् । पार्टी अध्यक्ष तथा पूर्वमन्त्री कुलमान घिसिङले अधिकारीलाई पार्टीको ब्याच र टोपी लगाइदिँदै औपचारिक रूपमा पार्टीमा स्वागत गरेका हुन् ।
पार्टी प्रवेश कार्यक्रममा बोल्दै अधिकारीले राष्ट्रिय स्वतन्त्र पार्टीले जनतालाई धोका दिइरहेको आरोप लगाए । उनले उक्त पार्टी जनमुखी नभई धनी वर्गको पक्षमा केन्द्रित पार्टी बनेको दाबी गर्दै जनताको वास्तविक मुद्दा उठाउन नसकेको बताए । साथै सामाजिक सञ्जालबाट मात्रै देश विकास सम्भव नहुने उल्लेख गर्दै व्यवहारिक काम र जनतामाझ गएर राजनीति गर्नुपर्ने आवश्यकता औंल्याए ।
उनले उज्यालो नेपाल पार्टी जनतामाझ बसेर, जनतासँगै काम गरेर अघि बढेको पार्टी भएको बताउँदै यही पार्टीमार्फत देशलाई उज्यालो बनाउने अभियानमा सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रममा पार्टी अध्यक्ष कुलमान घिसिङले उज्यालो नेपाल पार्टी जनआधारित नेतृत्व र कर्ममा विश्वास गर्ने पार्टी भएको बताउँदै देश परिवर्तनका लागि इमानदार र कर्मशील व्यक्तिहरूको सहभागिता आवश्यक रहेको धारणा राखे । अधिकारीको पार्टी प्रवेशले उज्यालो नेपाल पार्टीलाई थप सशक्त बनाउने विश्वाससमेत उनले व्यक्त गरे ।























